कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
2949

 डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का दलित बस्तीका बासिन्दाले जनता आवास कार्यक्रमको रकम लिन बैंकमा खाता खोलेका छन् । डोल्पाको विभिन्न ठाउँमा ४२५ घरधुरीले घर निर्माण गर्नका लागि सरमुकामस्थित सिटिजन बैंकमा खाता खोलेका हुन् । साविको पाहाडा गाविस, सर्मी गाविस र कालिका गाविसमा जनता आवास कार्यक्रमअन्तर्गत दलित बस्तीमा घर निर्माणकार्य सुरु भइसकेको छ ।
२०७४ चैत २६ गते सुरु भई २०७५ असार २० सम्म घर निर्माणकार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आवश्यक खर्च अभावका कारण घर निर्माणकार्य ढिला भएको स्थानीयले बताएका छन् । आर्थिक अभावका कारण समयमा घर निर्माण गर्न नसकिएकाले अब भुक्तानी पाएपछि निर्माण पूरा गर्ने त्रिपुरासुन्दरी नगरपालिका–८ पाहाडाकी जनता आवास कार्यक्रम घर निर्माण समितिकी सचिव नन्कु विकले बताइन् ।
नेपाल सरकारले कमजोर आर्थिक अवस्था भएका दलित बस्तीमा आवास निर्माणका लागि प्रत्येक घरधुरीलाई ३ लाख ८० हजार दिने व्यवस्था गरेको छ । प्रत्येक घरधुरीले २ कोठाको भवन र एक शौचालय भवन निर्माण गर्ने जनता आवास कार्यालय डोल्पाले जानकारी दिएको छ ।