कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
1012

करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि जेल चलान भएकाहरूलाई राख्नका लागि ठाउँको अभाव भएको छ ।
मोरङ कारागार चलान भएका नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौलासहितका २८ जनालाई राख्नका लागि ठाउँको अभाव भएको छ । मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको छ । २८ जना थपिँदा झनै समस्या हुने देखिएपछि उनीहरूलाई क्षेत्रीय कारागार झुक्का सुनसरी लगिने भएको छ । जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रहरीका उच्च अधिकारीसहित ३० मध्ये २८ जनालाई मंगलबार पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि पक्राउ परेकाहरूलाई कारागार लगिएको थियो । तर कारागारमा राख्ने ठाउँ नभएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको थियो ।
यसैबीच, सनम हत्या र सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेको बन्द इजलासमा बयान लिइएको छ । अदालतको बन्द इजलासमा गोरेकोे बयान लिइएको हो । बुधबार बिहान ११ बजेदेखि ४ बजेसम्म ५ घण्टा लगाएर गोरेसँग बयान लिइएको छ । पहिलो दिनको बयानमा गोरेलाई १५३ पृष्ठको अभियोगपत्र सुनाइएको र अभियोग पत्रमा उल्लेख गरिएका ६३ जना व्यक्तिसँगको सम्बन्ध र चिने नचिनेको विषयमा सोधिएको स्रोतले जनाएको छ । बयानको क्रममा सनमसहितका भरियाहरूलाई गोरे समूहले यातना दिएको भिडियो देखाउन भने गोरेका वकिलले विरोध गरेको जनाइएको छ ।