किरण आचार्य
बिहिवार, जेठ १०, २०७५
988

धनुषाको मिथिला नगरपालिकाअन्तर्गत ढल्केवरस्थित बसही खोला भूमाफियाले अतिक्रमण गर्दा एउटा गाउँ नै उच्च जोखिममा परेको छ । मिथिला नगरपालिकास्थित ढल्केबर चोकदेखि एक किलोमिटर पूर्वतर्फ रहेको बसही खोला भू–माफियाले अतिक्रमण गरी अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्दा मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँ नै जोखिममा परेको हो ।
गाउँलेहरूका अनुसार ढल्केबरका जग्गा व्यवसायी राजाराम महतोले खोलाको पुलसँगै जोडिएको दक्षिण पूर्वको जग्गा अस्पताल खोल्न भन्दै श्रीपुरका केही बासिन्दासँग किनेका हुन् । महतोले खोलाको ऐलानी जग्गासमेत अतिक्रमण गरी माटो थुपारेका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बहुमूल्य जग्गामा माटो थुपारेर उनले प्लटिङ गरेका छन् भने दक्षिणतर्फ खोलाको पूर्व र पश्चिम छेउमा करिब डेढ बिघा जग्गामा २० देखि २५ फिट गहिरोसम्म माटो खनेर दुइटा ठूलो खाल्डो नै बनाइदिएका छन् । जसका कारण खोला साँघुरिएर खोलाको पूर्वपट्टी किनारामा रहेको ८० घरधुरीको श्रीपुर गाउँ नै जोखिममा परेको हो ।
यस्तै उक्त जग्गाभन्दा पाँच सय मिटर दक्षिण पश्चिम छेउको जग्गा आफ्नो निजी रहेको भन्दै बसही खोला नै थुन्ने गरी व्यवसायी महतोले ठूलो बाँध निर्माण गरेका छन् । गिट्टी बालुवा उत्खनन् गर्ने उद्देश्यले खोला थुनिएकाले जुनसुकै बेला बाढी आए सिधै गाउँलाई नै बगाएर लाने खतरा बढेको छ । जग्गा व्यवसायी महतोले उक्त जग्गा गिट्टी बालुवा उत्खनन् गर्ने उद्देश्यले डेढवर्ष अघि केही स्थानीय बासिन्दासँग किनेका हुन् । उक्त जग्गालाई पनि घेरेर उत्खनन् गर्न थालेपछि श्रीपुरका गाउँलेले रोकेका छन् ।
व्यवसायी महतोकै त्यही जग्गा छेउमा पश्चिमपट्टी जोखिममा परेको गाउँका जयनारायण महतोले समेत आफ्नो साढे १६ कट्ठा जग्गाको २० फुटसम्म गहिरो खाल्डो बनाएर अवैध रूपमा ग्राभेल बेचेका छन् । जयनारायणले जग्गा उत्खनन्का लागि स्थानीय प्रशासनसँग कुनै अनुमति लिएका छैनन् । माटो खनेर बेचेको तर आफूलाई नियम कानुनका विषयमा थाहा नभएको उनको भनाइ छ ।
गाउँलाई नै जोखिममा पार्ने गरी खोला अतिक्रमण गरेर लाखौं टिपर अवैध गिट्टी बालुवा उत्खनन् गर्दासमेत स्थानीय प्रशासन मौन छ । जबकी उत्खनन् भएको ठाउँबाट एक किलोमिटर नजिकै मिथिला नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय ढल्केबर छन् । स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय पनि भूमाफियाको प्रभावमा परेर मुकदर्शक बनेको आरोप स्थानीयको छ ।
स्थानीय लक्ष्मण महतोले गाउँलाई नै जोखिममा पारेर भइरहेको अवैध उत्खनन् बन्द गराउन माग गर्दै ईलाका प्रहरी कार्यालयलाई गुहार्दा समेत कुनै सुनुवाइ नभएको बताए । दुई/तीन पटक टिपर र स्काभेटर समातेर प्रहरीलाई जिम्मा लगाउँदा छाडेको र ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नायव निरीक्षक चन्द्रनारायण त्रिपाठीले उल्टै आफूहरूलाई हप्काउने गरेको स्थानीय किशुन महतोले बताए ।
खोलाअतिक्रमण भएर गाउँ नै जोखिममा परेपछि स्थानीय गाउँले चिन्तित बनेका छन् । स्थानीय किशुन महतोले भने, “अहिले केही व्यक्तिले आफ्नो निजी स्वार्थका लागि खोला अतिक्रमण गरिरहेका छन्, प्रहरी प्रशासन मौन छ, तर वर्षात्का बेला गाउँलेको उठिबास हुने देखिन्छ ।”
स्थानीय शिवु महतोले गाईवस्तु चर्ने र बालबालिका खेल्ने खेल मैदानसमेत ठेकेदारहरूले उत्खनन् गरेर बेचेको दुखेसो पोखे । गाउँलेहरूले खोला अतिक्रमण गरेर गाउँलाई नै जोखिममा पार्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नायव निरीक्षक चन्द्रनारायण त्रिपाठीले उत्खनन्का विषयमा आफूले केही दिनअघि मात्र जानकारी पाएको बताए । उनले कमिसनको लोभमा प्रहरी प्रशासन मुकदर्शक भएको भन्ने आरोपको भने खण्डन गरे ।

फसाउन खोजेको गुनासो
यसैबीच खोला अतिक्रमण गरी अवैध उत्खनन् गरेको आरोप लागेका जग्गा व्यवसायी राजाराम महतोले भने गाउँलेहरूले आफूलाई फसाउन खोजेको गुनासो गरेका छन् । जग्गाबाट गिटी बालुवा उत्खनन् गर्दा गाउँको विकासका लागि गाउँलेहरूले आफूबाट ११ लाख रुपैयाँ लिएको बताए । महतोका सहयोगी श्रीदेव महतोका अनुसार गिट्टी बालुवा उत्खनन्बापत श्रीपुर गाउँका एक समितिका अध्यक्ष रहेका ओपेन्द्र महतोले ४ लाख, सञ्जय महतोले ४ लाख र गौरीशंकर महतोले ९० हजार रुपैयाँ लिएका छन् । उनीहरूले उक्त रकम गाउँकै विकासका लागि भन्दै लिएको श्रीदेवले बताए । श्रीदेवले स्थानीय बासिन्दाले आफूहरूलाई उत्खनन्का लागि उक्साएको र अहिले झुठा आरोप लगाएको बताए । यसमा गाउँलेहरूले नै ठूलो गल्ती गरेको र अहिले आफूहरूलाई फसाउन खोजेको उनको भनाइ छ ।

दोषीमाथि कारबाही गर्छौं : मेयर
मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले भने अवैध उत्खनन् गर्नेलाई कारबाही गर्ने बताएका छन् । अवैध उत्खनन् गरेर गाउँलाई नै जोखिम पारेको विषयमा आफूले भर्खरै मात्र जानकारी पाएको र तत्काल रोक्न लगाएको उनले दाबी गरे । उत्खनन् भएको जग्गाको नापचाँज गरेर अतिक्रमण गर्नेलाई छानबिन गरी कारबाही गर्ने उनको भनाइ थियो ।

सातामा धेरै पढिएको