रेशमराज रोकाया
बिहिवार, जेठ १०, २०७५
1581

तत्कालिन मैला र मदाना गाउँ विकास समिति र हालको ताँजाकोट गाउँपालिकाका वडा सचिव गोपालचन्द्र लामा सामाजिक सुरक्षा भत्ताको हिनामिनाको आरोपमा प्रहरीले पक्राउ परेको छ । लामाले १ करोड ४९ लाख सामाजिक सुरक्षा भत्ता स्थानीय बालबालिका, वृद्धवृद्धा, अपांग, एकल महिलालाई नबाँडेर हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरी २ वर्ष अघि परेको भएता पनि लामालाई बेला बेलामा स्पष्टिकरण सोधिएको भएता पनि लामाले कुनै प्रतिक्रिया नदिएका कारण अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दिर्घराज मैनालीले बताए । लामालाई सदरमुकाम सिमिकोटको तल्लो बजारबाट पक्राउ गरी अनुसन्धानको लागि काठमाडौं पठाइएको हो । अनुसन्धानको लागि बेला बेला लामालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उपस्थिती हुनको लागि पत्राचार गरिएको भएता पनि लुकीछिपी बस्ने र सम्पर्कमा नआउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय स्रोतले जानकारी गराएको छ । लामाले तत्कालिन गाउँ विकास समिति सचिव हुँदा ताका नक्कली कागजात बनाई सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम दुरुपयोग गरेको र हिनामिना गरेको आरोप लागेको छ ।

अख्तियारको अनुसन्धानको क्रममा हुम्लाका अधिकाँश तत्कालिन गाउँ विकास समितिका सचिव अनुसन्धानका क्रममा रहेका छन् । बराइ गाउँ विकास समितिका सचिव त्रिलोचना पोखरेल, रोडिकोट र डाँडाफया गाउँ विकास समितिका सचिव रामप्रसाद देवकोटा, जैर गाविसका सचिव कुमानसिँह धामी लगायत ९० प्रतिशत सचिव सामाजिक सुरक्षा भत्ता र अन्य विनियोजित रकम हिनामिनाको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको अध्ययनका क्रममा रहेका छन् ।
सदरमुकामभन्दा टाढा रहेका गाउँ विकास समितिका कार्यालयमा कोही पनि उपस्थित नभई सिमिकोटबाट नै कामकाज गरिरहेको, भत्ता बाँड्ने बेलामा मात्र गाउँ छिर्ने गरेका सचिवहरूले सामाजिक सुरक्षा भत्ताको विवरण एकिन नराख्ने गरेको आयोगले जानकारी दिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणको लागि कुनै व्यक्तिको विवरण सहि इन्ट्री नभएको समेत खुलाशा भएको छ ।
तथ्यांकमा भएको नाम पनि संकलन सिमिकाोटबाट नै अन्दाजी राख्ने, आमा, बुबा, जन्ममिति लगायतको विवरण एकिन नहुने, भत्ता बाँड्दा गाउँमा अनुमानको भरमा जो आए उसैलाई मात्र दिने अवैज्ञानिक पद्धतीले गर्दा सामाजिक सुरक्षा भत्ताको हिनामिना हुने गरेको छ ।
सचिवले गाउँमा भएका बालबालिका, जेष्ठ नागरिक, अपाँगता र एकल महिलाको विवरण लिनको लागि जाने नगरेको, मृतक भएका व्यक्तिको नाममा पनि आउने गरेको अनुदानलाई कागजी रुपमा मिलाई हिनामिना गर्ने गरेको तथ्य खुलेको छ । तिन किस्तामा बाँडिने सामाजिक सुरक्षाको रकमलाई १ किस्ता बाँड्ने नगरी हिनामिना गर्ने, कसैले कुरा उठाएमा अर्को अािर्थक वर्षमा निकाशा हुने भन्ने गरेको, त्यसरी पेल्दा पेल्दै किस्ता नै गायब गर्ने गरी हिनामिना गर्ने गरेको अख्तियार दुरुपयोग कार्यालय स्रोतले जानकारी गरेको छ ।