कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
1651

साउदी अरबमा १२ वर्ष काम गरेर फर्कीएका रोल्पा सुवर्णावती गाउँपालिका ४ मिझिङका नेत्रबहादुर महरा अहिले व्यावसायिक बाख्रापालनमा लागेका छन् । देशमै केहि गरौं भनी दुई वर्षअघि आफूले २५ वटाबाट सुरु गरेकोमा अहिले ५४ वटा बाख्रा रहेको महराको भनाई छ । “विदेशमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा व्यवसाय गर्न आनन्द आएको छ,” महराले भने, “उता विदेशमा कामदार बनेर काम गर्नुपथ्र्याे अहिले यता मालिक बनेको छु ।”
महरा मात्र होइन बैदेशिक रोजगारबाट फर्किएका रोल्पा सुकिदह गाउँपालिका–६ का जीतबहादुर वली पनि अहिले करिब एक सय बाख्राको मालिक बनेका छन् । आधुनिक खोर बनाई उन्नत जातका बाख्रापालन गरेकोले व्यवसायबाट मनग्य आम्दानी हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

पहाडी जिल्ला भएकोले घाँस पातको लागि पनि प्रशस्तै जङ्गल रहेकोले ५० देखि एक सय भन्दा धेरै बाख्रा पाल्न खास्सै समस्या नभएको उनीहरुको भनाई छ । मासु उत्पादनमा सहयोग पु¥याउन व्यावसायिक बाख्रापालनमा लाग्ने कृषकहरुलाई सरकारले सञ्चालन गरेको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)ले पनि अनुदान दिदैं आएको छ । रोल्पा जिल्लामा यो कार्यक्रमले किसानहरुलाई तालिम दिनुका साथै आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुले बाख्रापालनमा पनि संभावना रहेछ भन्ने विश्वास बढेको केयुबिकेका बाख्रा विकास विशेषज्ञ डा. विजय घिमिरेले बताए । “कार्यक्रम लागु हुनुभन्दा पहिले यहाँका कृषकहरुले बाख्रापालन पनि एक व्यवसाय हो जस्तो नै मान्दैन थिए,” घिमिरेले भने, “तर, अहिले धेरैले एक सय भन्दा धेरै बाख्रापालेर व्यवसाय ढुक्कसँग चलाएका छन् ।”
जिल्लामा उन्नत जातका बोयर लगायतका छोटो समयमा धेरै वजन लिने जातका बोकाहरु समेत भित्राइएको समेत उनको भनाई छ । जिल्लामा यसरी व्यावसायिक रुपमा बाख्रापालन तर्फ कृषकहरु लाग्न थालेपछि देशलाई मासुमा आत्मनिर्भर बनाउन टेवा पुग्ने घिमिरेले बताए ।
-पहलमान घर्ती