कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
896

कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, दैलेखलगायतका जिल्लाका २७ डिपोमा ९२ हजार क्वीन्टल चामल माग आएको छ । कर्णालीका प्रदेशका २७ डिपोमा चामलको माग रहेको नेपाल खाद्य संस्थान सुर्खेत क्षेत्रीय कार्यालय जनाएको हो ।
चालू आर्थिक वर्षमा हुम्ला, जुम्ला, कालिकोट, मुगु र दैलेखका २७ वटा डिपोले ९२ हजार क्वीन्टल चामल माग गरेको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख भीमबहादुर थापाले बताए । “संस्थानले ०७४/७५ मा स्वीकृत कोटा ४२ हजार ४० क्वीन्टलमा ४१ हजार १ सय ४२ क्वीन्टल चामल २७ वटा डिपोमा पठाएको छ,” उनले भने, “गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपाल खाद्य संस्थानको स्वीकृत कोटा कम देखिएको पाइएको छ ।”

गत आर्थिक वर्ष ०७३/७४ मा खाद्य संस्थानबाट ६५ हजार २ सय ९७ क्वीन्टल चामल सुर्खेतबाट कर्णाली प्रदेशका २७ वटा डिपोमा वितरण भएको संस्थानले जनाएको छ ।
यस आर्थिक वर्षमा जुम्लामा लागि ४ हजार ३ सय ६४ क्वीन्टल ८५ केजी, डोल्पाका लागि ४ हजार ७ सय ९४ क्वीन्टल ८० केजी, कालिकोटमा ५ हजार ४९ क्वीन्टल ८० केजी, दैलेखमा ५ सय ४१ क्वीन्टल २० केजी, बाजुराको कवाडी बिक्री केन्द्रमा २ हजार ९ सय ७८ क्वीन्टल १० केजी, हुम्लामा ११ हजार ८ सय १७ क्वीन्टल १५ केजी र मुगुमा ८ हजार ५२ क्वीन्टल ५ केजी चामल पठाएको संस्थानले जनाएको छ ।
-रमेश रावल