कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
1056

सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका दुईजना प्राविधिकविरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा इन्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेको हो ।
धौलागिरी गाउँपालिका–३ दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरूले सोमबार दर्ता गरेको उजुरीको आधारमा सम्बन्धित कर्मचारीलाई तिन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिनुका साथै छानबिन सुरु गरेको इकाई प्रमुख रामकुमार श्रेष्ठले बताए । उजुरीमा इन्जिनियर खनाल र प्राविधिक उप्रेतीले आर्थिक वर्ष ०७२/७३ मा सुरु भएको १९ लाख ५० हजार रुपैयाँ विनियोजित तीन कोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा २० हजार घुस लिएको उल्लेख छ ।