कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
1346

काभ्रे- जिल्ला प्रशासन कार्यालय (सीडीयो कार्यालय)लाई सबैखाले प्रशासनिक जिम्मेवारी दिइएको हुन्छ । यो कार्यालयले अन्य सरकारी कार्यालयको समेत निगारानी राख्नुपर्छ । तर, काभ्रे जिल्ला प्रशासन कार्यालयले आफ्नो बन्दै गरेको भवनको समेत प्रशासकीय जिम्मेवारी बहन गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेको आफ्नै भवन नबन्दा सेवाग्राहीहरूले धेरै सास्ती खेप्नु परिरहेको छ । भाडाको घरमा राखेको कार्यालय साधुरो भएको कारण नागरिक वडापत्र, अशक्त सहायता कक्ष र शौचालयको समेत व्यवस्था छैन ।
जिल्ला प्रशासन कार्यालयले भवन निर्माणको लागि जिएम कन्ट्रक्सनसँग नयाँ भवन निर्माणको लागि २०६९ वैशाख १२ मा सम्झौता गरी ०७० साउन १२ मा नै सक्ने गरी ४ करोड ३२ लाख ५ हजार १ सय ४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो तर भनको निर्माण थालनी गरेको ६ बर्ष वितिसक्दा समेत पूर्णता दिएको छैन । निर्माणाधीन भवन निर्माण कम्पनीका ठेकेदार र प्रशासनबीच विवाद भएपछि निर्माण कार्य रोकिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालको पालामा सम्झौता भएको भवन निर्माण अझै बन्न सकेन । बस्याल पछि काभ्रेमा दश जना प्रमुख जिल्ला अधिकारी फेरिसके तर भवन भने जस्ताको तस्तै छ ।

भवन सुरु भएपछि रुद्रनाथ बस्याल, ऋषिराम ढकाल, तुलसी गौतम, दुर्गा भण्डारी, केदार न्यौपाने, सदर्शन ढकाल, मदन भुजेल, बालकृष्ण पन्थि, शिव सिंखडा प्रमुख जिल्ला अधिकारी भएर पर्किए भने अहिले कृष्णबहादुर राउत प्रमुख जिल्ला अधिकारीको रुपमा छन् । १० जना प्रमुख जिल्ला अधिकारी मध्ये केदार न्यौपाने पछिका प्रमुख जिल्ला अधिकारीहरूको पालामा केही पनि निर्माणका काम भएनन् । सुदर्शन ढकालको पालामा ठेकेदार काम गर्न नआएपछि ठेक्का रद्द प्रक्रियामा काम अगाडि बढाउने निर्णय भएपनि पछि त्यत्तिकै छाडिएको थियो ।
विभिन्न मितिमा ७ पटक गरेर ठेकेदारलाई भने १ करोड ८१ लाख ५० हजार भुक्तानी भएको देखिन्छ । सम्झौता गरी कार्य शुरु गरिएको भएपनि ६ वर्ष बितिसक्दा समेत भवन निर्माण सम्पन्न नभएपछि सेवाग्राहीले सहज ढंगले सेवा लिन नपाएका हुन् । भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको जिल्ला प्रशासन कार्यालयको भवन भूकम्पले चर्किएको र ठाउँ नै साँघुरो भएपछि सेवाग्राहीले राम्रोसंग सेवा लिन नपाएको उनीहरूको गुनासो छ । भाडाको भवनमा सेवा दिनुपर्दा सेवाग्राही र कर्मचारीले समेत सास्ती खेप्नु परेको उनीहरूको भनाई छ ।
दैनिक ३ सयभन्दा बढीले सेवा लिने गरेको उत्तः कार्यालयमा प्रतिक्षालय समेत नहुँदा घाम पानीको बेलामा ओत लाग्ने स्थानको समेत अभाव छ । समयमा भवन निर्माण नहुादा गाँउ गाँउबाट सदरमुकाम आएका सेवाग्राहीले प्रशासन कार्यालय खोज्दै भौतारिनुपर्ने अवस्था छ । भवन निर्माण भए भवनमानै बाल इजलास, बालमैत्री, अपाङ्ग मैत्री, क्वाटर, क्यनन्टिन र सुविधासम्पन्न पार्किङको सुबिधा हुने छ । भर्खरै काभ्रे सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादर राउतले ४ बर्ष देखि सिन्को पनि नभाचिएको भवन निर्माणबारे काम अगाडी बढाउने पकृया शुरु गरिएको बताए । ‘किन काम रोकिएको हो, ठेकेदारलाई समेत बोलाएर छलफल गरेर यो विषय टुङ्ग्याउछु, प्रमुख जिल्ला अधिकारी राउतले भने, यस अघि भएका सबै फाइलहरू हेरेर आबश्यक कार्वाहिमा जान्छु ।’
ठेकेदारले प्रहरी चौकीको पैसा पाएनन्
गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने निर्देशन दिए । तर त्यही मन्त्रालयअन्तर्गत ठेक्का पारेर प्रहरी चौकी निर्माण गरेका ठेकेदारहरूले भने पैसा पाएका छैनन् । जिल्ला प्रहरीभित्रै निर्माण भएको व्यारेकभवन, सिनियर र अफिसर क्वाटर, थुनुवा कक्ष भवन बनिसकेपनि ठेकेदारले पैसा पाएका छैनन् । राष्ट्रिय भुकम्प पुनःनिर्माण कोषको ५ करोड ११ लाख ६९ हजारमा बनेको भवन निर्माण भएपनि ठेकेदारले जम्मा २५ लाख मात्र पाएका छन् । सिनर्जी-घिसिङ-ब्राईट जे.भी कन्ट्रक्सनले ठेक्का पारेको भवन अन्तिम चरणमा पुगेको छ । त्यस्तै २ करोड ५० लाखमा ठेक्का परेर काम सम्पन्न हुन लागेको ढुंखर्क चौकीको ८० लाख रकम ठेकेदारले पाएका छन् भने १ करोड ५० लाखमा ठेक्का परेर काम भैरहेको बालुवामा रहेको चौकीको ४५ लाख ठेकेदारले पाएका छन् ।
 

कपिल कोइराला