मातृका दाहाल
बुधवार, जेठ ९, २०७५
13153
» जेरीजस्तै जेलिएको अपराध : अनुसन्धान समिति
»एसएसपी लोहनीसहित २८ आरोपी पुर्पक्षका लागि कारागार चलान

त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरूको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन् । तस्करीको यो सुन करिव १७ अर्ब बराबरको हुन आउँछ । तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन ।
दुबइ हुँदै काठमाडौं भित्रिएको साँढे ३३ केजी सुन गायब र व्यक्ति हत्या प्रकरणमा फरार रहेका गोरे मंगलबार गौरीघाटबाट पक्राउ परेसँगै तस्करीको जालो थप रहस्यमय बनेको हो । पक्राउ लगत्तै छानबिन समितिले गोरेसँग प्रारम्भिक बयान लिएको थियो । गोरे काठमाडौंबाट पक्राउ परेको भनिए पनि उनलाई भारतीय प्रहरीको सहयोगमा सिलगुढीबाट ल्याइएको स्रोतको दाबी छ ।
गोरेको यो बयानसँगै अव अनुसन्धान टोलीमाथी शक्ति र सत्ताको आडमा हुँदै आएको सुन तस्करीको जालो भत्काउँने चुनौती थपिएको छ । अनुसन्धान टोलीका संयोजक पौडेलले पनि मंगलबार पक्राउ परेका गोरेसँगको प्रारम्भिक बयानमा मुद्दामा प्रतिवादी वनाइएका बाहेक थप व्यक्तिको संलग्नता खुलेको बताए । थप व्यक्तिको नाम गोरेले लिएपछि अनुसन्धान समितिले यसलाई जेरी जस्तै जेलिएको अपराधका रुपमा चित्रण गरेको छ ।
“निजलाई प्रारम्भिक सोधपुछका क्रममा यस अघि प्रतिवादी बनाइका ३३ केजी सुन तस्करी र शाक्यको हत्या सम्वन्धि मुद्दाका ६५ अभियुक्त मध्ये ३३ जना फरार र ३२ जना अदालतमा उपस्थित गराइएका व्यक्तिको तस्करीमा संलग्नबारे गोरेले थप प्रमाण, पुष्ट्याइँ र सूचना दिएको अनुसन्धान टोलीले उल्लेख गरेको छ ।
“पक्राउ परेका गोरेसँगको प्रारम्भिक अनुसन्धानका क्रममा तस्करीमा संलग्न केही थप व्यक्तिको पनि नाम खुलेको छ, यस विषयमा पनि तथ्यपरक र गहिराइमा पुगेको घटनाको विवरण बाहिर ल्याउँनेछौं,” पौडेलले भने, “गोरे संलग्न सुन तस्करी र व्यक्ति हत्या विरुद्धको अनुसन्धान निकै जटिल, गम्भिर प्रकृतिको संगठित अपराध भएकोले यो जेरी जस्तै जेलिएको र हरेक जेरीलाई सेल रोटी जसरी निकाल्नुपर्ने अवस्था रहेको जनाए ।
गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके ‘गोरे’ नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको संकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता-कार्यकर्ता सम्म पुगेको हो ।
तस्करीको साँढे ३३ केजी सुन गायब, शाक्यको हत्या र बनको संकास्पद मृत्यु प्रकरणको छानविन समितिकै प्रतिवेदनका आधारमा प्रहरीका बहालवाला एसएसपीद्धय श्यामबहादुर खत्री र दिवेश लोहनी, एसपी विकास खनाल, डीएसपीद्धय प्रजित केसी र सञ्जय राउत तथा पूर्व डीआइजी गोविन्द निरौला, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गरेको थियो । क्षेत्राधिकार नाघेर घटनाको अनुसन्धान गर्न प्रहरी खटाएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालिन एसएसपी लोहनी र डीएसपी केसीलाई प्रतिवादी बनाइएको हो । बाँकी आरोपित भने सुन तस्करीका सदस्यहरू रहेको अनुसन्धानबाटै खुलेको छ । तर, मूख्य अभियुक्त गोरे भनिने उप्रेती र बहालवाला एसएसपी खत्री सहितका ३३ अभियुक्त फरार थिए ।
अनुसन्धानकै क्रममा फरार रहेका मूख्य अभियुक्त गोरेलाई पौडेलको नेतृत्वमा रहेको अनुसन्धान टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जनाएको छ । उनलाई मंगलबार गृहमन्त्रालयका पत्रकार सम्मलन गरी सार्वजनिक गरिएको हो । त्यस लगत्तै मोरङ जिल्ला अदालत पुर्याइका गोरे सहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश अनुसार सुन तस्करीमा संलग्न भनिएका अम्बरबहादुर थापा साधारण तारेख र विष्णुबहादुर खड्का १५ हजार धरौटीमा छुटेका छन् । मोरङ जिल्ला अदालतमा सुन तस्कर गोरे सहितका ६५ जना अभियुक्त विरुद्ध कर्तव्यज्यान, अपहरण तथा शरीरवन्धक र संगठीत अपराध अभियोगमा मुद्धा दर्ता भइसकेको छ । अनुसन्धान टोलीलाई यस घटनाको अनुसन्धान गर्न जेठ मसान्तसम्मको समय दिइएको छ ।