कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५
897

बर्दियाको गुलरिया नगरपालिका–९ टेपरीका बेसहारा गन्धर्व दम्पत्तीको घर निर्माणका लागि सहायता जुटन थालेको छ । वृद्ध अवस्थामा विचल्लीमा परेका उनीहरूको सञ्चारमाध्यमबाट समाचार प्रसारण भएपछि विभिन्न सहयोगी हातहरू जुटेका थिए ।
जुटेको सहयोग रकमबाट घरको छाना छाउने जस्तापाता खरिद गरेर हस्तान्तरण भएको छ । समाचार हेरेर मुलुकभित्र र बाहिर रहेका धेरै नेपालीले सहयोग गरेका छन् । खासगरी राष्ट्र, राष्ट्रियता, मौलिक धर्म, संस्कार र संस्कृतिको संरक्षणमा क्रियाशील ॐ जनजागरण नेपाल बर्दियाको पहलमा बाँके, बर्दिया, कन्चनपुर, सुर्खेतलगायत वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका युवाले आफ्नो गच्छेअनुसार सहयोग गरेको जनजागरण नेपालका सदस्य भुवन खनालले बताए ।

संकलित ५० हजार रकमबाट गन्धर्व दम्पत्तीलाई जस्तापाता, हुक र पाइप वितरण गरी छाना छाउने प्रबन्ध मिलाएको उनको भनाइ छ ।
राहत सामग्री हस्तान्तरण गर्न टेपरी पुगेका जनजागरण नेपाल प्रदेश नम्बर ५ का संयोजक विमलराज ढकाल, जिल्ला अध्यक्ष माधवराज महाराज र उपाध्यक्ष धु्रव काफ्लेले थप सहयोगका लागि समेत पहल भइरहेको बताए । घरको छाना छाउने जस्तापाता पाएपछि वृद्ध दम्पत्तीको अनुहारमा थोरै भए पनि खुसी छाएको छ । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको अधुरो घरमा बस्दै आएका उनीहरूको खाने मानाको जोहोदेखि लाउने लत्ता कपडासम्म किन्ने कुनै आधार नभएपछि विचल्लीमा परेका थिए ।
उनीहरूका दुई छोरामध्ये भारतमा कमाउन गएका जेठो छोरा १० वर्षदेखि उतै बेपत्ता छन् भने कान्छो छोरा मानसिक सन्तुलन गुमेका कारण घर छाडेर गएपछि वृद्ध दम्पत्ती पुत्र वियोग र बुढेसकालको सहारा अभावमा विचल्लीमा परेका हुन ।
सरकारले दिएको ५ कठ्ठा ऐलानी जग्गामा बस्दै आएका उनीहरूको सो घरवास पनि घर निर्माण र खर्च धान्न नसक्दा १२ हजार रुपैयाँमा बन्धकी राखिएको छ ।
बन्धकी राखिएको जग्गा छुटाउन, घरको छानो छाउन र साँझ बिहानको छाक टार्न नसक्दा जीवन जिउने आधारै सकिएको उनीहरूले बताउँदै आएका थिए । खानेमानाको जोहो गर्न समस्या भएका पीडित गन्धर्व दम्पत्तीले अधुरो घर निर्माण गर्न सक्ने अवस्था थिएन । निर्माणकार्य अधुरै हुँदा अन्तिम किस्ताको रकमसमेत पाएका छैनन् ।
राहत बुझ्दै गगनले दुखः परेको बेला आफ्नो कोही नभए पनि यसरी सहयोग पाउँदा खुसी लागेको बताए । “मानवीयता अझै मरेको छैन रैछ,” उनले भने, “जसको कोही छैन उसलाई भगवानले पनी हेर्दा रैछन् ।” पानी परेको बेला छानो चुहिने छाप्रोमा जीवन गुजारा गरिरहेका उनीहरू घर निर्माणले पूर्णता पाए सन्तोषको स्वास फेर्ने बताउँछन् । “जीवन जिउने आधारै सकिएको अवस्थामा आफ्नै घरमा मर्न पाउँ भन्ने ठूलो धोको छ,” राम्रोसँग आँखा देख्न नसक्ने र कान पनि नसुन्ने अवस्थामा रहेका गगनले भने ।