कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५
1194

दूध उत्पादनका लागि दोलखाको दक्षिण–पूर्वी गाउँ हाँवा, च्यामा र सहरेका किसानलाई उन्नत जातका गाई वितरण गरिएको छ । किसानका मागका आधारमा स्थानीय तह र सहकारी संस्थाको समन्वयमा ती गाई वितरण गरिएको हो ।
उन्नत जातका गाई पाएपछि किसानले व्यावसायिक रुपमै गाईपालन सुरु गरेका छन् । स्थानीय जातका गाई र भैंसीबाट पर्याप्त दूध उत्पादन नहुने भएपछि किसानहरू उन्नत जातका गाईपालनमा लागेका हुन् । उनीहरूले जर्सी जातका गाई ल्याएर सामूहिक र व्यक्तिगत रूपमा पाल्न सुरु गरेका छन् ।

यो क्षेत्रमा २ पटक गरी ७५ वटा उन्नत जातका गाई वितरण गरेको तामाकोसी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष झनकबहादुर फुँयालले बताए । किसानलाई गाई ल्याउनका लागि स्थानीय सहकारी प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले प्रतिगाई ३५ हजार रुपैयाँ ऋण लगानी गरेको थियो । त्यस्तै किसानलाई ग्रामीण उद्यम विकास केन्द्रले प्रतिगाई १५ हजार अनुदान उपलब्ध गराएको थियो भने अरू किसान आफैंले लगानी गरेका छन् ।
किसानले ऋण लिएर गाई किने पनि २० जनाले ऋणसमेत चुक्ता गरी गाई आफ्नो बनाई सकेको प्रगतिशील साकोसका व्यवस्थापक देवीप्रसाद फुँयालले जानकारी दिए । किसानलाई ऋण लगानीमा सहज गर्न सहकारीलाई समेत ग्रामीण उद्यम केन्द्रले २० लाखको कोष खडा गरेको थियो । त्यही अनुदानलाई सहकारीले किसानलाई वार्षिक ८ प्रतिशत ब्याजमा ऋण लगानी गरेको हो ।
अघिल्लो वर्ष गाई गाउँसम्म ढुवानीका लागि र गोठ सुधारमा समेत सहयोग गरेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख ज्ञानबहादुर थापाले बताए । गाउँमा उन्नत जातका गाई ल्याएपछि दूध उत्पादनसमेत बढेको छ । च्यामा र सहरेमा दैनिक दूध संकलन केन्द्रसमेत राखिएको छ । सहरे र च्यामामा दैनिक ४ सय लिटर दूध संकलन गरेर चरिकोट पठाउन थालिएको छ । स्थानीय किसानबाट संकलित दूध दोलखा दुग्ध उद्योगले लिने गरेको छ ।
चरिकोटबाट ४० किलोमिटरको दुरीमा रहेको च्यामा पुग्न भीरकोटदेखि २० किलामिटर कच्ची सडक जानुपर्छ । किसानले बिक्रीका लागि ल्याएको दूध फ्याट अनुसार प्रतिलिटर ४० रुपैयाँदेखि ५५ रुपैयाँ भुक्तानी दिने गरेको छ ।
दूध संकलनका लागि स्थानीय प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापन गरेको छ । अहिले दूध संकलन केन्द्र र घाँसको बीउ विजनसहित भेटेनरी पसलसमेतसँगै स्थापना भएको छ । विहान दूध लिएर आउने किसानले आवश्यक औषधि, दाना, घाँसका बीऊ किनेर लैजाने गरेका प्रगतिशील साकोसका अध्यक्ष बालकृष्ण शर्माले जानकारी दिए ।
दूध संकलन केन्द्र र पसल राख्नका लागि अहिले सहकारीका लागि छुट्टै भवनसमेत निर्माण गरिएको छ । मर्सिकोर र ग्रामीण उद्यम विकास केन्द्रको सहयोगमा भवन निर्माण र चिस्यान केन्द्र स्थापना भएको हो । गाई पालनबाट दैनिक दूध उत्पादन हुन थालेपछि किसानहरूको आयआर्जन समेत बढ्न थालेको स्थानीय चामप्रसाद केसी बताउँछन् । बजारको कुनै समस्या नभएकाले किसान ढुक्कले गाई पालनमा लागेका छन् ।
-दिलबहादुर केसी