कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५
1677

दैलेखको डुंगेश्वर गाउँपालिकालाई स्थानीय बासिन्दाले १० रोपनी जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि सो गाउँपालिका–५ निवासी नरबहादुर मल्ल र नरेन्द्रप्रसाद न्यौपानेले डाँडापराजुलमा १० रोपनी जग्गा दान गरेका हुन् । सो जग्गा स्थानीय दररेटअनुसार करिव ३० लाख रकम बराबरको रहेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए ।
जग्गा प्राप्त गरेपछि गाउँपालिकाले भवन निर्माणका लागि तयारी सुरु भएको छ । अध्यक्ष मल्लले आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए । हाल गाउँपालिकाले सो जग्गालाई खारेर चौर निर्माण गरेको छ । गाउँपालिकाले करिब १० लाख रुपैयाँ खर्च गरेर चौर निर्माण गरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ । चौरको लम्बाइ १५० मिटर र चौडाइ ५० देखि ६० मिटरसम्म रहेको छ । चौरको बीचमा दैलेख जिल्लाको नापीको मूल पिल्लर रहेको छ । सो चौरनजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ । उक्त पिल्लरलाई संरक्षण गर्दै चौरमा गाउँपालिको आधुनिक भवन निर्माण गरिने छ । गाउँपालिकाको केन्द्र डाँडापराजुलमै बनाउन स्थानीय दाताले जग्गा दान गरेका हुन् । स्थानीय जनताले गाउँपालिकाको केन्द्र कायम गर्नका लागि जग्गा दान गरेकोमा दातालाई धन्यवाद दिएका छन् । हाल सोही स्थानमा गाउँपालिकाको अस्थायी केन्द्र छ ।
अध्यक्ष मल्लले जग्गाता दुवैजनालाई धन्यवाद दिए । उनले दाताहरूलाई गाउँपालिकाले सम्मान गर्नेसमेत जानकारी दिए । स्थानीय तहको निर्वाचनसँगै गाउँपालिका स्थापना भए पनि स्थानीय तहका आफ्नै भवन नहुँदा गाउँपालिकाको कार्यसम्पादन प्रभावकारी हुन सकिरेहका छैन । अध्यक्ष मल्लले भवन बनेपछि कार्यसम्पादन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।