सेकाहाका किसान व्यावसायिक खेतीतर्फ आकर्षित
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
433

संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाका किसानहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि समृद्धितर्फ उन्मुख भएका छन् । परियोजना सञ्चालनमा आएपछि किसानहरू तरकारी खेतीमार्फत आर्थिक रुपमा समृद्ध बन्दै गइरहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयमार्फत सञ्चालन भएको परियोजनाको सहयोगमा सेकाहाका ९४ घर परिवारले अहिले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी पकेट क्षेत्र घोषणा गरिएको सेकाहामा विगत दुई वर्षदेखि परियोजना सञ्चालन भएपछि तरकारी खेतीतर्फ किसानहरू आकर्षित भएका हुन् । वडाका विभिन्न पाँच कृषक समूहले पन्चकन्या तरकारी विस्तार पकेट क्षेत्र नामाकरण गरी व्यावसायिक तरकारी खेती गरिरहेको समूहका संयोजक पवित्रा गुरुङले बताइन् । उनीहरूले दुई सय रोपनी क्षेत्रफलमा गोलभँेडा, कोपी, रायो साग, अकबरे खुर्सानी लगायतका तरकारीको खेती लगाएका छन् ।
गत वर्ष जिल्ला कृषि विकास कार्यालय मार्फ २ लाख ८० हजार रकम अनुदान प्राप्त भएपछि तरकारी र फलफुल खेती विस्तार गर्न सहज भएको गुरुङले बताइन् । उनिहरूले सुरु गरेको व्यावसायिक खेतीलाई थप प्रभावकारी बनाउन यस वर्ष खाँदबारी नगरपालिकामार्फत ५ लाख र कृषकबाट २ लाख १९ हजार ५ सय रुपैंया रकम उपलब्ध भएको छ । उक्त बजेट मार्फत कृषि समूहलाई बीउ वितरण, पाइप, प्लास्टिक टनेल, प्लाष्टीक पोखरी, टुटा मियुल, स्प्रीङ कललगायतका सामाग्री वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालय संखुवासभाका बरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्माले बताए ।
खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नगरपालिकाका विभिन्न वडालाई कृषिजन्य वस्तुहरूको पकेट क्षेत्र बनाउन पहल गरिरहेको बताए । उता सदरमुकाम बाट एक दिनको पैदल दुरीमा रहेको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले पनि नगरपालिकाका विभिन्न स्थानको पहिचान गरी एक गाउँ एक कृषि उत्पादनका माध्यमबाट आप्mनो नगरपालिकालाई कृषिमा आत्मनिर्भर नगरपालिका बनाउन आफु अभियानमा लागिपरेको बताए ।
अभियान कार्यान्वयन गर्न कृषको आवश्यकतालाई प्राथमिकतामा राख्दै दुई महिना अघि नगरपालीकाले ५० थान मिनिट्रिलर अनुदानमा बितरण गरिसकेको बताए । खाँदबारी नगरपालीकाका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले आफ्ना बडालाई कृषीमा आत्मनिर्भर वडा बनाउन आफु क्रियाशिल रहेको बताउँदै नगरपालीकाले अनुदानमा ३५ वटा मिनि ट्रेलर अनुदानमा कृषकलाई बितरण गरेको बताए ।
-कृष्णराज शाक्य

 

सातामा धेरै पढिएको