कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४
1417

हुम्ला नेपालको राष्ट्रिय सडक सञ्जालले नछोएको एकमात्र जिल्ला हो । सडक नभएकै कारण यहाँको विकास प्रभावित भएको छ । तर, हाल निर्माणाधीन कर्णाली करिडोरले छुने लक्ष्यको साथमा नेपाल सरकारले बाजुरा हुँदै हुम्लाको दक्षिणी भेगबाट सडक निर्माण गरिरहेको छ । अझै दशकौं समय लाग्ने समयलाई हुम्लीले कुरिरहेका छन् । जिल्लाका हरेक विकास निर्माणको सामना नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर महँगो दरमा भिœयाउनु यहाँको दुर्भाग्य हुँदै आएको छ ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किलोमिटरमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्का खोलासम्म १५ किलोमिटर सडकको ट्रयाक मात्र हाल खुला भएको छ । यता सिमिकोटबाट दक्षिणमा खार्पुनाथ मन्दिरसम्म ११ किलोमिटरमा दैनिक ४ वटा जिप र ट्र्याक्टरको आवात–जावत हुने गरेकोले यात्रुले सहज बाटो पार गरिरहेका छन् ।
कर्णाली करिडोरअन्तर्गत हिल्सादेखि खुलालुसम्म २ सय ९० किलोमिटरको दूरी छ ।
नेपाली सेनाले भने खुलालुदेखि सल्लिसल्लासम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको छ । बाटो निर्माणको लागि सर्केगाड गाउँपालिकाबाट पूर्वमा सडक निर्माणका लागि नेपाली सेनाको हेलिकप्टरबाट स्काभेटर पुराइ ट्र्याक ओपनिङ सुरु भइसकेको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए । चीन र नेपालको सीमा हिल्सा सिमिकोट आर्थिक वर्ष २०५५÷०५६ बाट सुरु भएको बाटोले कछुवा तालमा गति लिइरहेको छ ।
हुम्लाको हरेक क्षेत्रको विकासका लागि बाटो नै अपरिहार्य भइरहेको यहाँका बासिन्दाले बताएका छन् । बाटोन भएकै कारण दैनिक उपभोग्यको सामानसमेत १ सय प्रतिशतदेखि ३ सय प्रतिशतसम्म महँगोमा किन्नुपर्दा यहाँका उपभोक्तालाई सास्ती हुने गरेको छ । हरेक चुनावमा नेताका चुनावी भाषण र सपना देखाउन पाउने सडक बाटो एक राम्रो लोप्पा हुम्लीलाई हुने गरेको छ । करिब २ दशकको सडक निर्माणले हुम्ला जिल्लाको ५ साविकका गाउँ विकास समितिलाई राम्रोसँग जोड्न नसक्नु, उपभोक्ता र ठेक्काको नाममा ठेक्केदार मोटाउनु हुम्लीका लागि दुर्भाग्य बनेको छ ।
पर्यटन क्षेत्र हुम्लाको विकासको आधार बन्ने
हुम्लामा हिमताल, सुन्दर प्राकृतिक दृश्य, अर्गानिक खाना, साँस्कृतिक चालचलन, अग्ला हिउँले ढाकिएका सेता हिमाल, हजारौं प्रजातीका जडीबुटी, वन्यजन्तुको संरक्षण र सम्बद्र्धन गर्न सकिए हुम्ला विकासमा यसले नयाँ आयाम थप्ने देखिएको छ । हरेक हिमालको काखमा सुन्दर हिमतालसम्म पुग्ने सहज बाटो, जडीबुटीको उत्खनन् र प्रशोधन केन्द्रको व्यवस्था भएमा यहाँका बासिन्दाको आयआर्जन बढ्ने देखिएको छ । हरेक वर्ष हुम्लाको विभिन्न ठाउँमा टे«ेकिङका लागि आउने पर्यटकको संख्या बढ्दै गएको भए तापनि व्यवस्थित होटल र रहनसहनमा ध्यान नपुराउँदा समस्या खडा हुने गरेको छ ।
सिमिकोट आसपासका गाउँमा होमस्टेको राम्रा प्रवन्ध गर्न सकिए पर्यटकको संख्या भित्रिने सम्भावना बढी रहेको छ । चीनको मानसरोवर तालको मुख्य प्रवेशद्वार हुम्ला नै हो । हजारौंको संख्यामा भारतीय नागरिक यहाँबाट मानसरोवर र कैलाश दर्शनका लागि जाने गरेका छन् । हाल हुम्लामा भएका सीमित सेवा सुविधा रहेका होटल र लजले करोडौंको व्यापार गरे तापनि यहाँ अझ सुविधासम्पन्न होटलको व्यवस्था गर्न सकिए आयआर्जनमा वृद्धि गर्न सकिने होटेल सञ्चालक रिन्जिनदोर्जे लामाले बताए ।
यहाँ रहेका धार्मिक तीर्थस्थलको वृत्ति विकास, संरक्षण, प्रचार–प्रसार गर्न सकिए आर्थिक समृद्धि हुन सक्ने सम्भावना रहेको यहाँका अगुवाले बताउने गरेका छन् । प्रसिद्ध ताल सर्केगाड गाउँपालिका–८ मा पर्ने दूधेदह, भीमदुलो, सिमिकोट गाउँपालिकाको रल्लिङ गोम्बा, नाम्खा गाउँपालिकाको नाम्खाख्योङजोम गोम्बा, खार्पुनाथ मन्दिर, प्राकृतिक सुन्दरताको धनी लिमी उपत्यका, रहेका  गाउँको उत्तरमा रहेका हिमताल पर्यटन विकासका मुख्य आधार हुन सक्ने सम्भावना छन् । जलयात्रा पनि हुम्ला विकासका लागि एक आर्थिक मेरुदण्ड हुन सक्ने सम्भावना छ ।
हुम्ला कर्णालीमा कायाकिङ, राफ्टिङ गर्न सकिने सम्भावनासमेत छ । यस प्रदेशका लागि हुम्ला साहसिक यात्राको गन्तव्य स्थलका रूपमा विकास गर्न सकिए समृद्ध हुम्ला बनाउन सकिने सम्भावना छ । रक क्लाइम्बिङ, प्यारग्लाइडिङ र माउन्टेन उडानका लागि पनि हुम्ला सम्भावना बोकेको ठाउँ हो ।
सयौंका संख्याको चरा चुरुंगी, वन्य जन्तुको अध्ययन स्थलको रूपमा विकास गर्न सकिए हुम्ला धनी हुने सम्भावना छ । हुम्लामा विश्वमा नै दुर्लभ भएका २५ प्रजातीका चरा र ५ प्रजातीका जनावर हुम्लामा मात्र रहेको यस अघिको अध्ययनले देखाएको छ । कस्तुरी, डाँफेको अत्यन्त उपयुक्त स्थलका रूपमा हुुम्ला छ । चोरी शिकारीको नियन्त्रण नहुँदा यहाँको बाघ, कस्तुरी, डाँफेलगायत दुर्लभ वन्यजन्तु हरेक वर्ष घट्नै गइरहेको पाइएको छ । यसलाई संरक्षण गर्न योजना कै रूपमा सरकार लाग्नुपर्नेमा स्थानीय विजय भण्डारीको भनाइ छ । मानसरोवर कैलाश दर्शनका लागि मुख्य प्रवेशद्वारको रूपमा हुम्ला भएकाले कम्तीमा २ रात हुम्लामा बिताउनुपर्ने, यहाँका दक्ष कामदारले काम पाउनु पर्ने व्यवस्था गरिनुपर्ने र सुविधा युक्त होटेलको व्यवस्था गर्न सकिए आयआर्जनमा वृद्धि गर्न सकिने अवस्था छ ।
हवाई भाडामा सहुलियत प्रदान गर्न सकिए आन्तरिक पर्यटकको पनि गन्तव्यस्थलको रूपमा हुम्लालाई किास गर्न सकिने अवस्था छ । हुम्लामा सरकारी लगानी रहेको नेपाल वायुसेवाको उडान हप्ताका २ दिन मात्र हुने गरेको भए तापनि यसको नियमितता दिनु आवश्यक छ । उडान तालिका अझै बढाउनु पर्ने र सेवामा गुणस्तर उकास्ने खालको योजना बनाउनुपर्ने आवश्यक यहाँका जानकारले बताउने गरेका छन् । पर्यटकीय क्षेत्रको हबकै रूपमा हुम्लालाई विकास गर्न सकिए आर्थिकस्तर वृद्धि हुने सम्भावना छ । यहाँको कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन अनि प्रचार–प्रसार गर्न सकिए हुम्ला आफैमा आत्मनिर्भर बन्ने पक्का छ ।
जलविद्युत्को उत्पादन गरिनुपर्ने
हुम्ला कर्णालीबाट यहाँका जनताले थुप्रै फाइदा लिन सक्ने अवस्था छ । हजारौं मेगावाटको विद्युत् हुम्ला कर्णालीबाट गर्न सकिन्छ । हाल हुम्लामा साना साना ५ सयभन्दा कम मेगावाटका १६ वटा हाइड्रो पावर उत्पादनले ५ हजार घरधुरीले मात्र बत्ती बाल्ने अवसर पाएका छन् ।
सिमिकोटमा १ हजार ५ सय ग्राहकको पहुँच नियमित रहने गरेको भएता पनि ग्रामीण भेगका १५ वटा हाइड्रोपावरमा रातिको समयमा मात्र ग्राहकले बत्तीको उपभोग गर्न पाएका छन् । साथै बेला– बेलामा प्राविधिक समस्या आए पछि महिनौं दिनसम्म कुर्नुपर्ने र लाखौंको खर्चमा प्राविधिकलाई समस्याग्रस्त स्थलमा ल्याउनुपर्ने बाध्यता छ । अझै पनि हजारौं घरधुरीका बासिन्दा बत्ती कस्तो हुन्छ भन्ने थाहा पाउन सकेका छैनन् ।
बत्तीको सुविधा नहुँदा गाउँमा कुटानी पिसानी, अन्य घरेलु उद्योगधन्दा, काठको कामलगायतको सीप भएका कामदारले मनग्य आम्दानी लिन सकेका छैनन् । हुम्ला कर्णालीको विद्युत्लाई उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा समावेश गर्न सकिने सम्भावना रहेको भए तापनि हुम्लीवासीे नै बत्तीको उपभोग गर्न नपाउनु दुर्भाग्य छ ।
अर्गानिक कृषि उत्पादनमा जोड दिनुपर्ने
हुम्लाका ९५ प्रतिशत वासिन्दा कृषिमा आधारित छन् । सिँचाइको सुविधा नहुनु, परम्परागत कृषि प्रणाली अवलम्बन गरिनुले यहाँका बासिन्दालाई ३ महिना खान पुग्ने अन्न उत्पादन हुन सक्दैन । आधुनिक कृषि ज्ञान र सीपको कमी हुनेले गरेको मेहनतभन्दा कम उत्पादन लिन सक्नु यहाँको समस्या छ । हरेक वर्ष तालिमको लागि आउने रकम, कृषि क्षेत्रमा उपयोग हुने बजेट के कसरी खर्च हुन्छ भन्नेमा कोही कसैलाई पत्तो नहुने गरेको सिमिकोट गाउँपालिकाका किसानको भनाइ छ । पहिला जिल्ला कृषि विकास कार्यालयले कहिले तालिम त कहिले सामान, बिउ प्रदान गरेको भए तापनि हाल गाउँपालिकामा बजेट जान थाले पछि कृषि क्षेत्र झन् पछाडि परेको किसानको महसुस छ । हुम्ला पूर्ण अर्गानिक जिल्ला भएकाले यस क्षेत्रमा आत्मनिर्भर गर्न सकिए मात्र दिगो रूपमा आयआर्जनका लागि टेवा पुग्ने अवस्था छ । हुम्लाका ९१ प्रतिशत घरधुरीका वासिन्दा जिल्लाभन्दा बाहिरबाट आयात गरिएको खाद्य उपभोग गर्नमा बाध्य भएका छन् ।
शिक्षा र स्वास्थ्य झन् लथालिङ
गाउँमा १ घण्टा कम्तीमा हिँडेर पुगिने स्वास्थ्य संस्थामा कहिल्यै पर्याप्त औषधि र स्वास्थ्य कर्मी हुँदैनन् । सिटामोलको अभावमा कैयौंले ज्यान गुमाउनु परेको अवस्था छ । छाउगोठमा लडेर घाइते हुँदा देवता लागेको भनी बली दिने चलन यहाँ विधमान नै छ ।
स्वास्थ्य संस्थामा ५ जना दरबन्दी भएको ठाउँमा मुस्किलले १ जना नत्र ताला बन्दको समस्या हुम्लीले भोग्दै आएका छन् । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी हाजिरै नगरी तलब थाप्नेकोे संख्या ठूलो छ । राजनीतिक दलको संरक्षणमा स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा पाइला नटेकेरै तलब खानेको संख्या धेरै छ । स्वास्थ्य संस्थामा उचित सेवा सुविधा नहुनु, भएको सुविधा दिने कर्मचारी पनि नहुनुले हरेक वर्ष सयौंले ज्यान त्याग्नु परेको अवस्था छ ।
शिक्षा क्षेत्रमा झन् लथालिङ छ । गाउँमा विद्यालय त छन् तर पर्याप्त शिक्षक दरबन्दी छैनन् । भएका शिक्षक पनि खेताला शिक्षक लगाएर आनन्दले अन्य व्यवसायमा लाग्नु, दक्ष शिक्षक नहुनु यहाँको मुख्य समस्या हो । बेलैमा पाठ्पुस्तक नपुग्नु, हिमपातले विद्यालयको पठनपाठन अवरोध बनाउनु, शिक्षण सिकाइ क्रियाकलाप उचित नहुनु, विद्यार्थी गरिबीको कारण विद्यालयमा नियमित उपस्थिति नहुनु लगायतका समस्या हुम्लाको शिक्षा क्षेत्रमा देखिएको छ ।
माध्यमिक शिक्षा उत्तीर्ण चिट चोरेकै भरमा हुनु यहाँको अर्को समस्या भएको छ । विद्यालयमा दिइने अनुदान निष्पक्ष नहुनु, राजनीतिक भनसुनकै आधारमा सरुवा, बढुवा गरिनु, उचित निरीक्षण अनुगमन नहुनु, सरकारी अनुदान कसैको निजी पेवा ठानिनु, शिक्षा कार्यालयका कर्मचारी नै राजनीतिमा प्रत्यक्ष लाग्नु हुम्लाको शैक्षिक गुणस्तर कायम नहुनुको बाधक मानिएको छ । कक्षा १ मा ७ हजारभन्दा बढी विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको भए तापनि १० वर्षमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा समावेश हुने विद्यार्थी १ हजारमा पुग्ने गरेका छन् ।

फोन गर्न १ दिनको बाटो तय गर्नुपर्ने
जिल्लाको अन्य भागमा केही खबर अनि जिल्ला बाहिरका आफन्तसम्म खबर गर्न १ दिनको बाटो तय गर्न हुम्ली अझै बाध्य छन् । नेपाल टेलिकमको रिपिटर टावर जिल्लाका विभिन्न ठाउँमा राखिएको भए तापनि सबै गाउँमा फोनको सुविधा उपभोग गर्न पाएका छैनन् । बेला–बेलामा हुने प्राविधिक समस्याको कारण यहाँका उपभोक्ता महिनौ दिनसम्म राज्यसँग समपर्क विच्छेद हुने गरेका छन् । अझै पनि १६ वटा गाउँका ५ हजार बासिन्दा टेलिफोनको सुविधा बाहिर छन् ।
इन्टरनेट सुविधा पाउनका लागि सदरमुकाम सिमिकोट नै धाउनुपर्ने अवस्था छ । गाउँको टुजीसेवामा इन्टरनेट नचल्दा केही काम परेमा ४ देखि ५ दिनको हिँडाइमा सिमिकोट पुग्नुपर्ने अवस्था छ । हरेक गाउँमा टेलिफोनको सुविधा पुग्न सकेमा विकासको अनुभव पाउने सुचना आदान–प्रदानमा सहज हुने सञ्चारकर्मी नरजन तामाङको छ ।
जिल्लामा ३ वटा सामुुदायिक रेडियो सूचना पाउने एक आधार भएको भए तापनि ७ वटै गाउँपालिकामा यसको प्रशारण क्षमता छैन । जसको कारण देशमा के भइरहेको छ भन्ने बारेमा यहाँका स्थानिय बेखबर रहने गरेको अदानचुली गाउँपालिकाका स्थानीय अशोक रावलको रहेको छ । स्थानीय स्तरमा प्रकाशित हुने साप्ताहिक पत्रपत्रिका सिमिकोटमा नै केन्द्रित भएका छन् । २ सयप्रतिभन्दा बढी बिक्री नहुने अनुभव प्रकाशकको छ ।
समृद्ध हुम्लाको मार्गचित्र

-रेशमराज रोकाया