कारोबार संवाददाता
शनिवार, श्रावण १७, २०७७
684

गुल्मी-जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा माथिबाट ढुंगा खस्दा एउटै परिवारका ४ जनाको मृत्यु भएको छ । शुक्रबार रातिअविरल वर्षाकाकारण खसेको ढुंगाले रुरुक्षेत्र गाउँपालिका–५ आँटीपाटाका राजु माझीको घरलाई क्षति पु-याउँदा उनकी श्रीमती ३० वर्षीय बिनामाझी, १० महिने शिशु विनिषामाझी, ७ वर्षीय छोरा हेमन्तमाझी र ९ वर्षीय छोरा सागर माझीको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
“शुक्रबार साँझकरिब ८ः३० बजेको समयमा माथिबाट ढुंगा खसेको हो । ढुंगाले घरमा क्षति पु-याउँदा घर बनाउन प्रयोग गरिएका काठहरूले च्याँपेर घरमा रहेका चार जना कै घटनास्थलमा मृत्यु भएको थियो । मैले जानकारी पाउनसाथ सेना प्रहरीलाई उद्धारमा खटिन पहल गरेको थिँए । तर, परिवारका सबै सदस्यहरूले ज्यान गुमाइसकेका रहेछन् ।” रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरि ज्ञवालीले भने । मृतक बिनाका श्रीमान् राजु माझी रोजगारीको सिलसिलामा भारतमा छन् ।

शुक्रबार राति र शनिबार बिहान प्रभावित क्षेत्रमा खटिएका सेना, प्रहरीले शवलाई जनजागारण प्राथमिक विद्यालय आँटीपाटामा राखेर शनिबार नै पोस्टमार्टम गरी आफन्तको जिम्माल गाएको रुरु गाउँपालिकाले जनाएको छ ।
मानवीय क्षतिसहित भएको उक्त घटनामा अन्य क्षतिको भने अझै अनुमान गरिएको छैन । “ढुंगाले च्याँपेर घर पूर्णरूपमा क्षति भएको, घरमा रहेका अन्य समानहरू पूर्ण रूपमा क्षति भएका छन् । ढुंगा खसेसँगै त्यसक्षेत्रमा पहिरोको पनि उच्चजोखिममा छ ।” वडाध्यक्ष ज्ञवालीले भने ।
आँटीपाटा क्षेत्रसँगै बम्घा आसपासका क्षेत्रमा ८ घरपरिवार निकै जोखिममा छन् । उनीहरूलाई त्यहाँबाट विस्थापित गरी आँटीपाटाको जनजागरण प्राथमिक विद्यालयमा राख्न लागेको गाउँपालिकाले जनाएको छ । केही दिनअघि मात्रै अविरल वर्षाका कारण गएको पहिराले जिल्लाको चन्द्रकोट गाउँपालिका ८ बास्कोटमा ६ घरपरिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाका कारण जिल्लामा धेरै घरपरिवार जोखिमकै कारण पनि प्रभावित क्षेत्रमा नै बस्न बाध्य छन् । आजभन्दा ठीक १ महिना अगाडि जिल्लाको मुसिकोट नगरपालिका र इस्मागाउँपालिकामा भीषण पहिरो गएको थियो । जसमा परेर २ जनाको मृत्यु भएको थियो भने १ जना अझै बेपत्ता छन् । उक्त पहिरोका कारण २५० घर विस्थापित साथै करोडौंको क्षति भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
तर, गुल्मीमा प्रभावित क्षेत्रका पीडितहरूले राहतको महसुस नगरेको गुनासो गरेका छन् । “प्रभावित क्षेत्रमा खानेपानीको समस्या, यातायात अबरुद्ध, बिजुली बत्तीको समस्यालगायतका थुप्रै समस्या छन् ।” पहिरो प्रभावित क्षेत्रका स्थानीयले भने । पहिरो प्रभावित क्षेत्र इस्मागाउँपालिका र मुसिकोट नगरपालिकामा जिल्लाविपद् व्यवस्थापन समिति, गुल्मीको निर्णयबमोजिम एकद्वार प्रणालीबाट राहत सामग्रीहरू वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा बाढीपहिरोका कारण धेरै स्थानमा एकदमै जोखिम बढेको छ । जिल्लाका स्थानीय तहहरूले घटना घटेपछि मात्रै त्यस क्षेत्रमा ध्यान पु-याएको पाइएको छ । प्राकृतिक विपद्सँग कसरी सामना गर्ने स्थानीय तह योजनाविहीन छन् । राष्ट्रियविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गुल्मीलाई पनि प्राकृतिक विपद्को उच्च जोखिममा राखे पनि जिल्लाका सरोकारवालाको ध्यान गएको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गुल्मीसँगै कास्की, जाजरकोट, पाल्पा, लमजुङ, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, वाग्लुङ, डोटी र दार्चुलालाई प्राकृतिक विपद्को उच्चजोखिममा राखेको छ ।
 

सन्तोष महतारा