कारोबार संवाददाता
बिहिवार, श्रावण १५, २०७७
335

रुकुम पश्चिमको सोती घटनाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समूहको समन्वयमा ५ लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम मृत्तकका प्रत्येक परिवारलाई ५० हजारका दरले ३ लाख रुपैयाँ, प्रत्येक घाइतेलाई १० हजारको दरले १२ जनालाई १ लाख २० हजार, कानुनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा ५ लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत पीडितहरूलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाले सोती घटनाका ६ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रुकुममा घटेको उक्त घटनाले आफू स्तब्ध भएको बताउँदै दलित शब्द शब्दकोषबाट हटाउनुपर्नेमा जोड दिए । श्रेष्ठले भने, “२१ औं शताब्दीमा आएर पनि १६ औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसहरूको मनबाट जातीय विभेद र छुवाछूत हट्दैन ।” घटनालाई अप्रिय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे । रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठूलो कारण भएको उनको तर्क थियो । पीडित परिवारमा भूकम्प, बाढी÷पहिरो एकैपटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराएपछि राज्यको चौथो अंग पत्रकारितामात्र न्यायको आशा गरिने स्थान भएको समेत आंैल्याए ।
कार्यक्रममा पूर्वमन्त्री जितु गौतमले सोती घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अदालतले फैसला गरेको भन्दै आपत्ति जनाए । उनले न्यायालय शंकाको घेरामा रहेको तर्क गरे । कलाकार संघले गरेको सहयोग हस्तातरण कार्य अति नै विवेकशील भएको उनको भनाइ छ ।
उनले भने, “नवराजकी प्रेमिकाको आमालाई १ लाख धरौटीमा छाड्दा न्यायालयमाथि आपत्ति मैले जनाउँदा न्यायालयमा प्रश्न गर्न नहुने तर्क दिएका साथीहरूले चोलेन्द्र शमशेरले सर्वस्वसहित जन्मकैद तोकेका रञ्जन कोइरालालाई जेलमुक्त गरिदिँदा अहिले सर्वत्र आलोचना गरिहेका छन् । न्यायालय पनि शंकाको घेरामा रहेको छ ।”
भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । संविधान र कानुनमा भएका जातीय अधिकारको विषयहरू हुबहु लागू गरेर विभेद अन्त गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “जातीयताको नभई क्षमताको आधारमा समाज अगाडि बढ्नुपर्छ ।” घर्तीले वास्तविक पिडकको पहिचान गरी कारबाही अगाडि बढेको समेत जानकारी दिए । नगरपालिका र आफूले सुरुदेखि नै पीडितहरूलाई न्याय र पीडकहरूलाई कारबाही गर्ने गरी भूमिका निर्वाह गरेको घर्तीले विश्वास दिलाए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशबाट जातीय विभेद अन्त्य गर्नुपर्ने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए । धमलाले भने, “देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भूमिका निभाउनुपर्छ ।” उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने र पीडितले न्याय पाउनै पर्ने आवाज उठाए ।
कार्यक्रममा पत्रकार महासंघका सचिव रेमबहादुर विश्वकर्माले दलित समुदायलाई मात्र नभएर अन्य पछाडि परेका र अन्यायमा परेका सबैलाई राष्ट्रिय कलाकार संघले सहयोग गर्नुपर्ने बताए । उनले समाजका आवश्यकत्ताअनुसार कलाकार संघ चल्न पनि सुझाव दिए ।
रकम हस्तान्तरण कार्यक्रममा अमृत खातीले स्वागत भाषण गरेका थिए । कार्यक्रममा दोस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत पीडितको घर निर्माण वा पुनःस्थापना र शालिक वा पार्क निर्माण गर्न पहल गर्ने पूर्वमन्त्री जितु नेपालले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष गायक यशकुमारले रकम संकलनमा सहयोग गर्नुहुने अमेरिका, अष्ट्रेलिया, युके र अन्य स्थानमा रहेको सबैलाई धन्यवाद दिएका थिए । सहयोग संकलन अभियानका संयोजकसमेत रहेका एस कुमारले सोती घटनालाई दुःखद भने । उनले यो सहयोग ठूलो नभए पनि मनदेखि विभेदविरुद्ध ऐक्यबद्धता भएको बताए । पीडितहरूको घाउमा मलम लगाउन यसले मद्दत गर्ने आशा व्यक्त गरे । कार्यक्रमको उद्घोेषण कृष्ण गजमेरले गरेका थिए ।
रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान राष्ट्रिय कलाकार समूहले जनाएअनुसार उक्त सहयोग रकम अमेरिकाबाट २ लाख ८९ हजार ५ सय, अष्ट्रेलियाबाट ८६ हजार ४ सय, बेलायतबाट १५ हजार, गो फण्ड मिबाट ६३ हजार पाँच सय, क्यानडाबाट पचास हजार, उषाबाट १० हजार र राजु परियारबाट ५ हजार प्राप्त भएको हो । र, अभियानको कार्यक्रमको व्यवस्थापनमा भने २१ हजार २ सय खर्च भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।