कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७
534

नेपाल प्रहरीले बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्रै सुन भएको पाइएको छ ।
मंगलबार बिहान काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडी प्रहरीले बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये परीक्षण गर्दा आधा किलो मात्रै सक्कली सुन भएको पाइएको हो ।

कमलादीस्थित कृष्ण पाउरोटी चोक नजिक प्रहरी चेकजाँचको क्रममा बा.६ च ५५११ नम्बरको स्कोर्पियो रोकेर चेकजाँच गर्न खोज्दा सुन कारोबारी कपडाको झोला फालेर भागेको थियो । झोला खानतलासी गर्दा १५ किलो बारबारको सुन जस्तै देखिने पहेंलो धातु बरामद भएको हो ।
जसमध्ये परिक्षण गर्दा आधा किलो अर्थात ४२ लाख ९ हजार ५ सय रुपैयाँ मूल्य बराबरको मात्रै सुन भएको पाइएको छ । अन्य साढे १४ किलो भने चाँदीमा सुनको जलप लगाएको पाइएको छ । सो चाँदीको बजार मूल्य १५ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । उनले चाँदी र सुन बोक्न प्रयोग भएको स्कोर्पियो गाडी खोजिरहेको जानकारी दिए । यस्तै, उनले बरामद भएको झोलामा दुई थान अबैध हतियार भेटिएको समेत बताए ।
प्रहरीले बरामद गरेको १५ किलो बराबरको अबैध पहेंलो धातुमध्ये १ केजि लेखिएको ८ थान र २ सय ५० ग्राम लेखिएको २६ थान चाँदीमा सुनको जलप लगाएको परिक्षणको क्रममा देखिएको प्रहरीको दावी छ । सुन कारोबारमा संलग्न गिरोहले ठग्नका लागि सुनको जलप लगाएर बोकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । । गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।