कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
530

सिन्धुपाल्चोक- अविरल बर्षापछि आएको बाढीले भोटेकोसी नदी करिडोरका तीन बस्तीमा जनधनको क्षति भएको छ । बुधबार मध्यरातमा आएको बाढीले वितण्डा मच्चाउँदा ३३ घर बगाएको छ । बाढीले बगाएका २० बेपत्ता छन् । दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाह्रविसे नगरपालिका–५ गाती जम्बुमा स्थानीय याल्बो खोल्साको बाढीले ११ घर बगाएको छ । सानो खोल्सा उर्लिँदा जम्बुमा १६ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो स्थानमा २० वर्षिय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको शब भेटिएको छ । निकेशकी श्रीमती भागेर बाँचेकी छन् । यहाँ घाइते भएका चार जनालाई हेलिकोप्टरबाट उपचारका लागि राजधानी लगिएको छ ।

बाह्रविसे नगरपालिका ३ बाह्रविसे–३ कै खागदलमा बाढीले क्षति पु-याएको छ । प्रहरीका अनुसार खागदलमा २० घर बगाएको छ । बाँकी घरहरुमा लेदो माटो भरिएको छ ।
बाढीले अरनिको राजमार्ग जोड्ने खागदल खोलाको पक्की पुल बगाएको डिएसपी काफ्लेले जानकारी दिए । त्यस्तै राजमार्गमा रोकिराखेका एक-एक बस, ट्रक, स्कार्पियो र ट्याङ्कर पनि बगाएको छ ।
त्यस्तै भोटेकोसी गाउँपालिका–५ बुल्कुटीका दुई घर बग्दा चार बेपत्ता छन् । दुई बालबालिका घाइते भएका छन् । त्यहाँ बुल्कोटी खोल्सीले बाढी, पहिरो निम्त्याएको हो ।