कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
429

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले कानुनले तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने विश्वास दिलाए ।
गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित सामारोहमा दर्ज्यानी चिह्न ग्रहण गर्दै आईजीपी थापाले प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए ।

उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । थापाले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रुपमा कारबाही गरिन्छ ।”
उनले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले संक्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजन सही निष्कर्षमा पुर्याउने समेत उनले प्रतिबद्धता जनाए ।
महानिरीक्षक थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।