कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
461

लकडाउन अवधिभर उपत्यकामा ८८ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन् । जसमध्ये ३० वटामात्र फेला परेका छन् ।
बाँकीको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको अवधिमा मोटरसाइकल तथा स्कुटर चोकीका घट्ना बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०७१–०७२ देखि चालु आर्थिक वर्षसम्मको हाल जम्मा ६ हजार चार सय ६८ थान मोटरसाइकल तथा स्कुटर हराएको भन्दै महाशाखामा निवेदन दर्ता भएका छन् ।
महाशाखाका प्रवक्ता बामदेव गौतमका अनुसार प्रहरीमा उजुरी परेकामध्ये एक हजार १९९ थान मोटरसाइकल मात्रै फेला परेका छन् । १२५ थान मोटरसाइकल र १९२ जना मानिसलाई चोरी मुद्दामा कारबाही गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
उक्त अवधिमा बेवारिसे अवस्थामा फेला परेका ६४१ थान मोटरसाइकल भन्सारमा पठाएको गौतमले जानकारी दिए । महाशाखाले सोही अवधिमा शंकास्पदको अनुसन्धान गरी २४१ थान मोटरसाइकल सवारी सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ ।
महाशाखाले हराएका सवारीको खोजीका लागि छुट्टै खोजतलास केन्द्र निर्माण गरेको छ । पार्किङ स्थल, समारोह, अस्पताल, एकान्त पार्किङ स्थल, घरको प्रांगण तथा गेट बाहिर, लामो समयसम्म पार्किङ गरिने सवारी साधन बढी हराउने गरेको महाशाखाले जनाएको छ ।
लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकल चोरी भएको पाइएको महाशाखाले जनाएको छ ।