कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४
914

जुम्लाका ग्रामीण बस्तीमा पछिल्लो समय छुईगोठ मुक्त हुन थालेका छन् । जनचेतनासँगै स्थानीयको व्यवहारमा आएको परिवर्तनका कारण छुईगोठमुक्त गाउँ हुने क्रम बढ्दो छ । गाउँमा रहेका महिला सहकारी तथा गैरसरकारी निकायले दिएको चेतनाले छुई प्रथा एक प्राकृतिक प्रक्रिया हो भन्ने कुरो सजिलै रूपमा ग्रामीण महिलाले बुझेकोले छुईगोठमुक्त अभियानमा सहयोग मिलेको सर्वोदय नेपालका जिल्ला संयोजक कमलराज खत्रीले बताए । गोठमा बस्दा हुने विभिन्न जोखिमलाई मध्यनजर गर्दै छुईगोठ मुक्त गर्नु आवश्यक रहेको महिलाहरूको भनाइ छ । सामाजिक कुप्रथाका रूपमा रहेको छुई वार्ने चलनले कतिको अकलामै ज्यान गएको छ भने कति बलात्कृत हुनु परेको छ ।
जुम्लाको पातारासी गाउँपालिका– ५ माथिल्होर्प गाउँका महिलाले छुईगोठ मुक्त गरेका छन् । सदियौँदेखि समाजमा जगडिएर रहेको कुसंस्कार छुई भएको अवस्थामा गोठमा नबस्ने भन्दै मुक्त गरेका हुन् । माथिल्होर्प गाउँका महिला तथा पुरुषको अगुवाइ तथा पातारासी गाउँपालिका र सर्वाेदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा उक्त गाउँ तथा बस्तीलाई सोमबार छुईगोठ मुक्त घोषणा गरिएको हो ।

छुईगोठ मुक्त अभियान कर्ता तथा कार्यक्रमकी सभाध्यक्ष दिपा बुढाले आजका मितिबाट हामी महिला ७ दिने जेलबाट मुक्त भएको बताइन् । उनले भनिन्, “छुई अर्थात् महिनावारी भएको अवस्थामा हामी महिला ७ दिनसम्म छुईगोठमा विभिन्न कष्टका साथ रात बिताउने गरेका थियौँ ।” अब हामी महिला सचेत भएका छौँ महिनावारी भएको अवस्थामा छुईगोठमा बस्दा विभिन्न रोगबाट संक्रमित हुनु साथै असुरक्षित हुने गरेकाले सरसफाइ गरी घरभित्रै बस्ने अठोट गरेका छौँ ।
पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर बुढाले छुई अर्थात् महिनावारी हुनु भनेको यो एक प्राकृतिक प्रक्रिया हो, हामी सचेत नागरिकले समाजमा रहेको कुसंस्कारलाई न्यूनीकरण गर्दै सव्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

-सागर परियार