कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
430

प्रतिनिधिसभाको बुधबारको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन् ।
छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । राष्ट्रियसभाको पनि बुधबारको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।