कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
564

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु प्रदर्शनीमा उत्रिएका छन् । मंगलबार काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडी ट्याक्सीसहित हातमा प्लेकार्ड लिएर व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि आफ्नो रोजीरोटी खोसिएको भन्दै व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन दिनुुपर्ने उनीहरुको माग छ । यस्तै, ट्याक्सी सञ्चालन गर्न नपाउँद बैंकको किस्ता तिर्न समस्या भएको, भोकभोकै बस्नु पर्ने अवस्था आएको, घरबेटीले कोठा भाडा मागेको लगायतका गुनासो पनि गरेका छन् ।

व्यवसायीहरुले तत्काल ट्याक्सी सञ्चालन गर्न दिने अवस्था नआए चाबी लगेर सिंहदरबारमा बुझाउने समेत चेतावानी दिएका छन् । लकडाउन उलंघन गदै ट्याक्सीहरु सडकमा गुडाएको भन्दै प्रहरीले केही दिनदेखि नियन्त्रणमा लिँदै आएको थियो ।
सोमबार मात्रै काठमाडौंका विभिन्न स्थानबाट तीनसय भन्दा बढी ट्याक्सी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । व्यवसायीहरुले भने निजी सवारी साधनले कोचाकोच मान्छे राखेर चलाउँदा कारवाही नगर्ने तर, आफूहरुले व्यवस्थित तरिकाले सञ्चालन गर्दा समेत दमन गरेको आरोप लगाएका छन् ।
सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ भने लकडाउनको हालको मोडलीटी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय समेत गरेको छ ।