कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४
1500

कालिकोट-हिमाली क्षेत्रमा पाइने जंगली काठबाट बनाइने भाडा फुरु (कचौरा)को माग तिब्बतमा निकै बढेको छ । चीनमा काठको भाडाको माग उच्च रहेको कारणले माग बढेको हो । तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यो भाँडो तिब्बतमा काठको कपका रूपमा बिक्री हुन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गरेर पश्चिम नेपालका हिमाली जिल्लाहरू हुम्ला र बझाङ, मुगु, डोल्पा र दार्चुलाका तामाङ र लामा जातीले तिब्बतमा लगेर बिक्री गर्दै आएका छन् ।
चीनको हिल्सा, ताक्लाकोटलगायतका ठाउँमा काठको भाँडाको माग उच्च रहेको र एउटै फुरुको ५ हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने गरेको स्थानीय व्यापारी कल्पना तामाङले बताइन् । “कृषि पेसा गर्न पर्याप्त जमिन नहुँदा फुरुक्कै आम्दानीले जीविकोपार्जन गर्दै आएको छौं,” उनले भनिन्, “तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रूपमा फुरुलाई लिने गर्दछन् ।”

पश्चिम नेपालका हिमाली जिल्लाहरू हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका स्थानीयले ताक्लाकोट लगाएतका तिब्बती बजारमा नेपालीहरूले वर्षौंदेखि फुरु, गलैंचा, जडीबुटीलगायत हस्तकलाका सामान बिक्री गर्दै आएका छन् । नेपालीहरूले चिनियाँ बजारबाट दैनिक उपभोग्य सामान, चामल, मैदा र तयारी कपडा ल्याउने गरेको र सीमावर्ती जिल्लाका बासिन्दा आफूहरूले उत्पादन गरेको कृषि, हस्तकला र पशुजन्य उत्पादनलाई तिब्बती बजारमा पु¥याएर बेच्ने गरेको हुम्लाका सिमिकोट गाउँपालिका स्थानीय ग्याल्बो लामाले बताए । “नेपालीले चीनको तिब्बतमा फुरुको ब्यापार राम्रो गरिरहेका छन्, फुरुलगायतका सहज पहुँचका लागि पहल गरिदिए आर्थिक रूपमा समृद्ध हुने आशामा छन्,” उनले भने, “हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर ताक्लाकोट नजिकै पर्छ । त्यहाँ फुरुको धेरै ब्यापार हुने गरेको छ ।”
पहिला तिब्बती बजारमा नेपालबाट गएको फुरु बेच्न सजिलो थिएन । तिब्बतको स्थानीय सरकारले नेपाली हस्तकलाका सामानमा भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको नेपाल–चीन उद्योग व्यापार संघका सचिव मैहिमान तामाङले बताए । “वार्षिक करोडौं रुपैयाँ मूल्यका फुरु नेपालबाट तिब्बततर्फ निकासी भइरहेका छन्,” उनले भने, “यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायतका जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ ।”
यस्तै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका सामान पनि चौरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको बझाङ काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । “बझाङ, दार्चुला र मुगुका वासिन्दाले समेत तिब्बततर्फ होजियारी, नेपाली गलैंचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोट लगायतका तिब्बती बजारमा बिक्री गर्दै आएका छन्,” उनले भने, “भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ ।”
हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्ज्याङलगायतका नाकाबाट तिब्बतका बजारहरूमा बर्सेनि अर्बौं कारोबार हुने गरेको छ ।

रमेश रावल