कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४
1947

बर्दिया पानाबासका चुलुवा थारु ६ महिनादेखि दोलखाको मैनापोखरी क्षेत्रमा घर बनाउन सक्रिय छन् । ६ महिना यता उनले वैतेश्वर गाउँपालिकाका विभिन्न ठाउँमा १० भन्दा बढी ढलेका घर ठड्याउन लागे ।
चुलुवासँगै पानाबासका २४ जनाको टोलीले घर ठड्याउने सडक निर्माण र सोलिङको काम पनि गर्दै आएको छ । वैतेश्वर गाउँपालिका–४ र ५ का अधिकांश सडकको सोलिङ उनकै टोलीले गरेको छ । पानाबासकै मनिराम थारुले भने, “लाखौं खर्च गरेर विदेश जानुभन्दा त आफ्नै देशमै काम गर्दा नै राम्रो छ ।” लाखौं खर्च गएर विदेश गए पनि कमाइको टुंगो छैन, यहाँ त दैनिक ८ घण्टा काम गरेर ३० हजारसम्म बचत हुने उनले बताए ।

कपिलवस्तु चनौटाका सन्तु चौधरी दोलखाको भीमेश्वर नगरपालिका– ५ मा एक वर्षदेखि गिट्टी कुटिरहेका छन् । उनले बिहान उज्यालो भएदेखि साँझसम्म गिट्टी कुटेरै दैनिक ७ सयदेखि ९ सयसम्म कमाउँछन् । सन्तुसँगै गिट्टी कुट्नकै लागि कपिलवस्तु चनौटाबाट ३६ जना त्यहाँ आएका छन् । उनीहरू विभिन्न समूहमा काम गर्दै आएका छन् ।
नवलपरासीका १८ वर्षीय हरिराम चौधरी पनि साथीहरूसँगै मिलेर तामाकोसी गाउँपालिका–४ जफेमा घर ठड्याउनै व्यस्त छन् । उनको साथमा नवलपरासीका २५ जना छन् । त्यसैगरी सप्तरीका रामेश्वर चौधरी पनि घर बनाउनकै लागि २८ जना साथीहरूका साथमा डेढ वर्षअघि दोलखा आए । उनीहरू सबै फरक फरक समूहमा विभाजित भएर घर बनाउने काममा व्यस्त छन् ।
स्थानीयस्तरमा नै रोजगारी पाए तापनि बाहिर बसेर ढुक्कले काम गर्दा पैसा पनि बच्ने उनीहरूको भनाइ छ । “घरमा बस्दा नुन तेलभन्दा पैसा बच्दैन,” रामेश्वर चौधरीले भने, “तर यहाँ बढी समय काम गरेर पठाउँदा धेरै हुन्छ ।” विकासे कामले हामीजस्ता मजदुरलाई सहज भएको उनले बताए ।
पढाइमा बढीमा कक्षा ५ सम्म पढेका उनीहरू पढेलेखेका त यस्ता काममा नआउने उनले भने । “हाम्रो त गाउँमै पढेका कमै छन्,” उनले भने, “काम खोज्न बाहिरै जानु परे तापनि सीप हुनेलाई कामको खाँचो छैन ।”
दोलखामा भूकम्पपछि घर निर्माणका लागि चौधरीजस्तै अधिकांश तराईबासी छन् । दोलखाका हरेक गाउँमा विभिन्न समूहमा काम गर्नेहरू स्थानीयभन्दा बाहिरबाट आएका मजदुर धेरै छन् । तराईको झापादेखि कन्चनपुरसम्मका र पश्चिम रुकुम, रोल्पा, हुम्ला, मुगु, अछाम, कालिकोटलगायतका जिल्लाबाट सबैभन्दा धेरै मजदुर दोलखामा कार्यरत छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखा सचिवालय प्रमुख सागर आचार्यले दोलखा त मिनि मलेसिया जस्तो लागेको बताए । हरेक गाउँ पुग्दा बाहिरी जिल्लाकै मान्छे देखिन्छ ।
दोलखामा घर बनाउने मजदुरले औसतमा दैनिक एक हजार कमाउँछन् । खाना बस्नको सुविधासहित उनीहरूलाई दैनिक ज्यालामा घर बनाउन लगाइन्छ । स्थानीयले पनि घर बनाउनका लागि सकेसम्म बाहिरबाट आएकालाई नै काममा लगाउन दिन रुचाउने वैतेश्वर गाउँपालिका–८ का वडाध्यक्ष रमेश अधिकारीले बताए ।
स्थानीय धेरै रोजगारीकै लागि बाहिर भएकाले पनि घर बनाउने अवसर तराई र पश्चिम नेपालबाट आएकाले पाएका छन् । आजभोलि घर बनाउने मात्र नभएर स्थानीय सडक, सिँचाइ, खानेपानी लगायतको सानोतिनो विकासे काममा पनि बाहिरबाट आएकालाई नै दिने गरेका छन् । स्थानीय उपभोक्ता समितिले काम दिए पनि काम गर्ने भने बाहिरकै रहेको उनले बताए । पुनर्निर्माण लगायतका ठूला सडक, जलविद्युत् आयोजना, पुलजस्ता विकास निर्माणका काम वृद्धि भएपछि रोजगारीका अवसरसमेत बढेको छ । दोलखामा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि ८० प्रतिशत बढी बाहिरकै मजदुर कार्यरत छन् ।
दोलखाको हरेक वडामा २ सयदेखि ५ सयसम्म बाहिरकका मजदुर कार्यरत छन् । पुनर्निर्माण प्राधिकरण लगायतका संघ संस्थाले स्थानीयलाई मात्र भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिए तापनि बाहिरबाट आउनेले स्थानीयबाट भूकम्प प्रतिरोधी घर बनाउन सिकेका छन् । दोलखामा मात्र घर बनाउनका लागि २० हजारभन्दा बढी बाहिरबाट आएकाले काम गरिरहेको अनुमान छ ।-दिलबहादुर केसी