नीरज पिठाकोटे
आइतवार, जेठ २५, २०७७
1031

वीरगन्ज- महामारीको रूपमा फैलिएको कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले ७३ दिनसम्म बन्द रहेका वीरगन्जको बजार शुक्रबारदेखि आंशीक रूपमा खोलिएका छन् । वीरगन्जमा पहिलोपटक चैत २८ गते कोरोना संक्रमण देखापरेपछि गरिएको लकडाउनले वीरगन्जको मुख्य सडकमा रहेकापसल सटरहरू बन्द रहेका थिए ।
लामो समयसम्म बन्द हुँदा व्यवसायीहरूलाई आर्थिक समस्या आईपर्ने भन्दै संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन उद्योगी व्यापारीले माग गर्दै सडकमै प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनलाई दबाव बढेको थियो । उद्योगी व्यवसायीहले गरेको आग्रहलाई दृष्टिगत गरी स्थानीय प्रशासनले जोर–बिजोर प्रणालीमा पसल खोल्न अनुमति दिएपछि आजदेखि व्यापार व्यवसाय सञ्चालनमा आएका हुन् । स्थानीय प्रशासनले आलोपालो गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएका कारण जेठ २३ गते बिजोर गते वीरगन्जमा हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस्, अटोवक्र्स, भाँडावर्तन, सुन–चाँदी, फर्निचरका पसलहरू मात्रै खुलेका थिए ।

जोर गतेका दिन रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स आदिका पसलहरू खुल्नेछन् । यी पसलहरू हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । खाद्यान्न, किराना, आलु, प्याज, पानी, दूध, ग्यास, तरकारी तथा फलफूल भने हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म ४ घण्टा खोल्न पाउने छ । ७३ दिनपछि पसल खोलेका व्यवसायीहरूलाई मौसमले भने साथ दिएन । बिहानैदेखि पानी परेपछि वीरगन्जको बजारमा ग्राहक भने नआएको र आलोपालो गरि बजार पसल खोल्न स्थानीय प्रशासनले अनुमति दिएको भए पनि सामान किन्न आउने ग्राहकका मोटरसाइकल प्रहरीले बजार क्षेत्रमा प्रवेश गर्न नदिँदा व्यापार नभएको व्यापारीहरूले बताए । वीरगन्ज बजारमा आउने ग्राहकलाई प्रहरीले मोटरसाइकल, हुलाक कार्यालय अगाडिको लालबंगला परिसर, वीरगन्ज उद्योग वाणिज्य संघको पश्चिमपट्टी रहेको पार्किङ स्थल र आदर्शनगरको पुरानो बसपार्कमा पार्किङ गर्नुपर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको संकट व्यावस्थापन केन्द्रको बैठकले सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल, मिठाइपसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बालगायतका भीडभाड हुने स्थलहरू भने पूर्ण रूपमा बन्द नै राख्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
शुक्रबार खुलेको बजारमा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अनुगमन गरेका छन् । संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा रहेको संघका पदाधिकारीहरूले लकडाउनपछि पहिलो पटक खुलेको बजार पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा धेरै लामो समयपछि पसलहरू खुल्दा व्यापारीहरूले केही राहत महशुस गरेको पाइएको बताए । उनले बजारमा मनपरी मूल्य वृद्धि गरी बिक्री गर्नेहरूले व्यापार व्यवसायको बदनाम गर्ने भएकोले त्यस्ता क्रियाकलाप रोक्नका लागि अनुगमन गरिएको बताए ।

जनकपुरमा १२ बजेसम्म खोल्ने सहमति
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ । स्थानीय प्रशासन र व्यापारीबीच शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । खाद्यान्न, तरकारी, फलफूल, दूधसहित अत्यावश्यक सामानको पसल खुला भएको र अन्य पसल पनि सुरक्षा निकायको आँखा छलेर खोल्ने प्रहरीलाई देखेपछि बन्द गर्ने गरेर खोलेका थिए । केही दिनयता देशका प्रमुख शहरमा व्यापारीहरूले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने बताएपछि स्थानीयप्रशासनकै सहमतिमा पसलहरू खुल्न थालेका छन् । प्रजिअ निरौलाले ग्राहकहरूबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए । अन्य व्यवसाय खुले पनि सिनेमा घर, सैलुनजस्ता कतिपय व्यवसाय भने प्रशासनले खोल्न नदिने भएको छ ।
बिहीबार पसल खोलेको भन्दै प्रहरीले दुई व्यापारीलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया सुरु गरिसकेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।