कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
587

अन्तर्जातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ ।
आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोग टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापपछि शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारका सहयोग पु-याउन आयोगले जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आग्रह गरेको छ ।