कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
605

पोखरा- पोखराको सेती नदी खाँचोमा बेपत्ता भएका एक युवाको डेढ महिना पछि मात्र शव फेला परेको छ । पोखरा महानगरपालिका १ बगर स्थित पृथ्बी नारायण क्याम्पसको तल सेती नदीको खोंचमा पौडी खेल्दै गर्दा वेपत्ता भएका पोखरा महानगरपालिका १६ दिप बस्ने २४ बर्षका अमृत थापा मगरको डेढ महिना पछि सोमबार शव भेटिएको प्रहरीले जनाएको छ ।
पोखरा १ र पोखरा १६ को बिचमा पर्ने सेती नदीको खोँचमा पानीमा तैरिरहेको अबस्थामा प्रहरीले मगरको शव भेटाएको हो । गोरखा आरुघाट घर भएका मगरको शव पोष्टमार्टमको लागि हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत चैत २८ गते माछा मार्न मगर सहित तीन जना उक्त क्षेत्रमा गएका थिए भने अन्य सामान्य सामान्य अबस्थामा घर फर्किएका थिए । मगर सेती नदीमा बेपत्ता भएका थिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पोखरा महानगरपालिका १८ सेदी स्थित निर्माणाधिन लेकसेदी रिसोर्ट अपार्टमेन्टमा कार्यरत एक कामदारको ज्यान गएको छ । कञ्चनपुर पुनर्बास नगरपालिका २ घर भई केही समयदेखि पोखरामा मजदुरी गर्दै आएका ४५ बर्षीय पदम लामाको काम गर्ने क्रममा अचानक ढली उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
विगत तीन महिना देखि काम गर्दै आएका लामाको जण्डिस सहितका अन्य रोगबाट ग्रसित भएको हुँदा सावधानि अपनाउन नसक्दा ज्यान गएको हुन सक्ने रिसोर्ट व्यबस्थापनले जनाएको छ । कामको खोजिमा धेरै पटक अनुरोध गरेकाले केही समय अघि उनलाई आफ्नो अपार्टमेन्टमा काम दिएको लेकसेदी रिसोर्ट अपार्टमेन्टका संचालक बिमल बसेलले बताए ।