कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७
1466

विराटनगरमा लकडाउनको बेला अपराध बढ्यो

विराटनगर-लकडाउनको समयमा विराटनगरमा हत्याका घटना बढेको छ । पछिल्लो एक हप्ताभित्र दुईजनाको हत्या भएको छ, त्यो पनि परिवारकै सदस्यबाट ।
आफ्नै श्रीमतीको योजनामा औषधि व्यवसायीको हत्या भएको घटना सेलाउन नपाउँदै दुईभाइ छोरा मिलेर बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ । विराटनगर–१४ झटियाहीका ६९ वर्षीय सीताराम चौहानको आफ्नै दुई भाइ छोराले हत्या गरेको पाइएको छ ।
हत्या गरेर घरभित्रै खाल्टो खनेर पुरेको अवस्थामा सीतारामको शव फेला परेको छ । २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानले आफ्नै बाबुलाई कोदालो प्रहारबाट हत्या गरी कोठामै गाडेको घटना सार्वजनिक भएको छ ।
सामान्य विवादपछि उनीहरूले बाबु सीतारामलाई जेठ ३ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य विवादमा बाबुको हत्या गरेका अभियुक्तहरूले घरकै खाटमुनि खाडल खनेर शव पुरेका थिए । सीमारामका तीन भाइ छोरामध्ये कान्छो बेग्लै बस्थे ।
५ दिनसम्म पनि बुवा सम्पर्कमा नआएपछि कान्छो छोरा घर पुगेका थिए । घरभित्र खाल्डो देखेपछि उनैले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार हत्या गरेर उनीहरूले सीतारामलाई आफैं सुत्ने खाटमुनि पुरेको पाइएको छ ।

हत्यामा संलग्न रोहित र नागेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । बुधबार साँझ शव भेटिएको घटनालाई मोरङ प्रहरीले २४ घन्टा नबित्दै निष्कर्षमा पु¥याएको छ । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयद्वारा अनलाइन माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा एसपी विश्व अधिकारीले मृतक सीताराम र उनका जेठा छोरा रोहित सँगै बस्दै आएको तथा माइला छोरा विराटनगरको भट्टीमोडमा परिवारसहित बस्दै आएको जानकारी दिए ।
यसअघि ठेला चलाएर जीविकोपार्जन गर्दै आएका मृतक सीताराम लकडाउनयता छोराहरूबाटै खर्च लिएर दैनिकी धानिरहेका थिए । जेठ ३ गते मादक पदार्थ सेवन गरेर विराटनगर–१४ स्थित घर गएका दुई भाइले बाबुले पैसा माग्दा भएको विवादपछि राति ९ बजेतिर कोदालो प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
“लकडाउनका कारण काम नभएपछि बाबुले छोराहरूसँग पैसा मागेको र सोही क्रममा विवाद हुँदा आवेगमा आएर हत्या गरेको देखिन्छ,” अधिकारीले थपे, “यो कुनै पूर्वयोजनामा नभई क्षणिक आवेगका कारण भएको घटना हो ।”
हत्या गरिएको भोलिपल्ट मात्र दुई भाइले कोठामै खाडल खनेर शव पुरेको पाइएको छ । अभियुक्तमध्ये मृतकका जेठा छोरा रोहित लागूऔषधको दुव्र्यसनीसमेत रहेको जनाइएको छ ।
जेठा छोरा केही काम नगर्ने दुव्र्यसनी तथा माइलो छोराले समेत अन्तरजातीय विवाह गरेका कारण बाबु र छोराबीच यसअघिदेखि नै सम्बन्धमा कटुता रहँदै आएको बताइएको छ । मृतककी श्रीमतीको केही वर्षअघि निधन भइसकेको जनाइएको छ ।
यस्तै औषधि व्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको थियो । दुलालको हत्यामा संलग्न सिरहाको लहान–१० का २१ वर्षीय ब्रम्हदेव साह, इटहरी–१२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।