कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
530

सौरभ रिमाल र अनुष्का श्रेष्ठको परिचय र भूमिका फरक फरक छ । रिमाल सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनी सञ्चालक हुन् भने श्रेष्ठ मिस नेपाल । तर कोरोना महामारीपछिको लकडाउनमा उनीहरुको दिनचर्या फेरिएको छ ।
लकडाउनको बेलामा धेरैलाई दिन कसरी कटाउने भन्ने समस्या छ तर प्राय उनीहरु घरमा हुँदैनन् । उनीहरु प्रत्येक दिन लकडाउनको कारणले बाँच्नका लागि संघर्ष गरिरहेका काठमाडौ उपत्यकाभित्रका पशुपन्क्षी र विपन्न परिवारहरुलाई खाना ख्वाउनमै व्यस्त हुन्छन् ।

“स्माइल नेपाल“ नामक संस्थाको सहकार्यमा यस्तो समाजसेवी कार्य गरिरहेका रिमाल र श्रेष्ठसहितको टोलीले रातोपुल, सिंहदरबा रवरिवरि, ज्ञानेश्वर, टुँडिखेल, कलमपोखरी, पशुपति क्षेत्रवरिपरि, स्वयम्भू, वसन्तपुर, न्युरोड, दरबारमार्ग लगायतका ठाउँमा पुगेर वेवारिस बाँदर, गाई, परेवा, कुकुरलगायतलाई खाना खुवाउँदै आएको छ ।
“स्माइल नेपालको माध्यमबाट स्माइल दिन खोजिरहेका छौं, प्रत्येक दिन दुई जति कुकुर र बाँदरका साथै बसन्तपुरका परेवाहरु, गाईहरुलाई खानाका लागि सहयोग गरिरहेका छौ,” सौरभ भन्छन्– “लकडाउनको पहिलो दिनदेखि नै केहि सहयोग गरुम् भन्ने सोच लिएर अघि बढेका थियौ । त्यसपछि कुकुर, बाँदर, गाई आदिलाई खानाका लागि सहयोग गर्न थाल्यौ ।”
टोलीले पशुहरुलाई खुवाउने खानाहरु सबै रेस्टुरेन्टहरुबाट फालिने खानाबाट बनाउने उनीहरुले दैनिक ज्यालादारी कामदारहरु अनि भारतबाट आएर नेपालमा काम गरिरहेका भारतिय कामदारहरुलाई पनि राहत प्रदान गरिरहेका छन् । उनीहरुले हालै ५० परिवारलाई १५ दिनका लागि पुग्ने खाद्य सामग्री बाँडी सकेका छन् । उनीहरुका लागि काठमाडौका विभिन्न सहयोगी हातहरुले सहयोग गरिरहेका छन् ।
पशुपन्छीलाई खुवाउने खाना भने कमलादी कार्यालय रहेको डल्ले रेस्टुरेन्टले गर्ने गरेको छ । खाना पकाउने काम भने रातोपुलमा भइरहेको छ । रेस्टुरेन्टलाई खाना तयार गर्न आवश्यक सामग्री भने सौरभ र उनको समूहले उपलब्ध गराउने गरेको छ । उनका अनुसार सहरी क्षेत्रमा ९० प्रतिशत कुकुरले मानिसले उपलब्ध गराउने खानामा आफ्नो जीवन निर्वाह गर्ने गरेका छन् ।
सरकारले तोकेको मापदण्डलाई ख्याल गर्दै काम गर्ने र यसलाई बन्दाबन्दी खुलेपछि पनि निरन्तरता दिने योजना बनाएका उनीहरु अप्ठेरोमा परेका पशुपन्क्षीलाई सहयोग गर्न पाएकोमा खुशी छन् । “अप्ठेरोमा परेका पशुपन्क्षीहरुलाई सहयोग गर्न पाएकोमा धेरै खुशी लागेको छ, सन्तुष्टि मिलेको र आनन्दको अनुभूति भएको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिने पक्षमा छौ,” उनीहरु भन्छन्– “यो संकटमा हामी सबै जना एक भएर आफ्नो सामथ्र्य बमोजिम हृदयलाई खुला गरेर सहयोग गर्नुपर्छ, गाह्रो समयमा सबैले सहायता गर्दा धेरैको ज्यान जोगिन सक्छ ।”
लकडाउनले अलपत्र परेका यस्ता जनावरमध्ये केहीको मृत्यु भएको खबरले दुखित भएको बताउने उनीहरु सकेसम्म पशुपन्क्षी खाना नपाएर मर्नु नपरोस भन्ने पक्षमा छन् । वातावरणीय जीवनचक्रका लागि पशु पन्क्षीको ठूलो भूमिका रहने हुनाले संकटको बेलामा उनीहरुको सहयोगले वातावरणमा समेत ठूलो सहयोग पुगेको छ ।