प्रकाश लम्साल
बुधवार, जेठ ७, २०७७
362

बारा-चारकोसे झाडीले परिचित बाराको जंगलबाट लकडाउनसँगै काँचो रुख, गोलाई र चिरानको तीव्र तस्करी हुन थालेको छ ।
डिभिजन वन कार्यालय बाराले चोरी बढेको सूचनाको आधारमा छापामारी तीव्र बनाएसँगै ठूलो परिमाणमा काठ बरामद हुन थालेपछि जंगलमा काठको तस्करी ब्यापक बढेको पाइएको हो । झण्डै एक दशकपछि ६ महिना यता वन क्षेत्रभित्र भएको घना बस्ती र चौतर्फी रूपमा खोलिएका बाटोघाटो, निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा बस्ती बढेसँगै बढी तस्करी हुने गरेको छ । वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेमा अधिकांश स्थानीय नै रहेको वन सरोकारवालाको भनाइ छ ।

चोरी तस्करी बढेसँगै सशस्त्र प्रहरी, वन रक्षकसहितको टोलीले सर्च अभियान थालेसँगै एकै दिनको सर्च अभियानमा कोल्हवी नगरपालिका–५ ककडी नयाँटोल एउटै गाउबाट ५ हजार बढी क्युफिट परिमाणको साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको छ ।
लकडाउनसँगै जिल्लाका ग्रामीण क्षेत्र विशेषगरी जंगलसँगै जोडिएका बस्तीमा भारतलगायतका देशबाट स्वदेश फर्केकाले जंगलमा गस्ती नहुने गरेको थाहा पाई तस्करी गर्न थालेको सूचना डिभिजन वनमा पुगेपछि सर्च अभियान थालिएको जनाएको छ । उक्त टोलका अधिकांश परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घरको गोठ आगन बारीमा लुकाइछिपाई राखेको अवस्थामा सर्च गरेको टोलीले काठ बरामद गरेको थियोे । बरामद गरिएको उक्त काठ सबडिभिजन वन कार्यालय मधुवनअन्तर्गतको इलाका वन कार्यालय ककडीमा घाटगद्धी गरी राखिएको छ ।
वास्तविक परिमाणको आधारमा काठ बरामद भएका घरहरूको छानबिन र अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए । बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी वन क्षेत्र छन् ।