कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७
708

विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा मृतक दुलालकी श्रीमतीसहित थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो । प्रहरीले घटनामा लहान नगरपालिका–१० का २१ वर्षीय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका–१२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार स्काइपमार्फत आयोजना गरेको पत्रकार सम्मेलनमा मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मृतककी श्रीमती मीनाको योजनामा ब्रम्हदेव र सोनुको सहयोगले दुलालको हत्या गरिएको बताए । श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको तथा श्रीमानसँग बदला लिने उद्देश्यसहित हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए ।
घटना विवरण अनुसार जेठ ३ गते साढे १० बजे राति श्रीमती मीनाको योजनाअनुसार विराटनगर–१० स्थित मधुमाराचोक पुगेका बम्हदेव र सोनुले प्लाष्टिकको डोरीले दुलालको घाँटीमा बेरेर तथा कुटपिट गरेर हत्या गरेको बताइएको छ ।
योजनाअनुसार हत्यापछि मात्र उनलाई उपचारका लागि अस्पतालतर्फ लगिएको अनुसन्धानमा खुलेको छ । इटहरी–१२ घर भएका मृतक दुलालले विराटनगरमा देवी पाथिभरा फार्मेसीका नामले औषधि पसल चलाउँदै आएका थिए । १० वर्षअघि प्रेम विवाह गरेका दुलालका ८ वर्षीय छोरा छन् ।