कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
789

महेन्द्रनगर-विश्वभरि कोरोना भाइरसको महामारीले प्रभावित बनाइका बेला मुलुक लकडाउनको अवस्थामा छ । तर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा निकुञ्जभित्र प्रवेश गरेर गैरकानुनी कार्य गर्नेको संख्या बढेको छ । निकुञ्जमा अवैध तवरले प्रवेश गर्नेको संख्या बढेसँगै प्रकाउ पर्नेको संख्या पनि बढी छ ।
निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण मझगाउँ ब्यारेकले सरकारले कोरोनाको संक्रमण हुन नदिन गरेको लकडाउनका समयमा निकुञ्ज प्रवेश गरि गैरकानुनी कार्य गर्ने एक हजार बढीलाई पक्राउ गरेको छ । सेनाले लकडाउन सुरु भएदेखि वैशाख मसान्तसम्म निकुञ्जमा प्रवेश गरेर चोरी निकासी गरिरहेका एक हजार ६३ जनालाई प्रकाउ गरेको हो ।

“गस्ती गर्ने क्रममा काठ दाउरा चोरी गर्ने, शिकार गर्ने, वन्यजन्तु तस्करी गर्ने, माछा मार्नेलगायत घाँस काट्ने एक हजार ३६ जना महिला र २७ पुरुष प्रकाउ परेका छन् ।” देवीदल गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी राजु बस्न्यातले भने, “प्रक्राउ पर्नेमा पुरुषको संख्याभन्दा महिलाको संख्या उलेख्य बढी छ, यसको अर्थ अवैध कार्यमा महिलाको संलग्नता बढेको छ ।”
पुरुषले ठूलो तवरले काठ तथा बन्यजन्तु ओसार्ने गरेको भए पनि महिलाले घासँदाउरा चोर्न आउँदा आफ्नो सजिलोका लागि स–सानो बुट्यानलाई काट्ने गरेको उनले बताए । निकुञ्जमा विगतको भन्दा लकडाउनको समयमा काठ दाउरा तथा वन्यजन्तु चोरी तस्करी पनि बढेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निकुञ्जमा अवैध रूपमा प्रवेश गर्नेको संख्या बढेपछि गैरकानुनी कार्यलाई नियन्त्रण गर्नका लागि सेनाले तेब्बर गस्ती गरिरहेको छ ।
“निकुञ्जको सुरक्षाका लागि रातिको समयमा भेहिकल पेटा«ेलमा पनि तीव्रता दिइएको छ, निकुञ्जको अर्जुनी, बेल्डाँडी, मझगाउँलगायत सुरक्षा पोस्टबाट भेहिकल पेटा«ेल गस्ती गर्ने गरिएको छ ।” प्रमुख सेनानी बस्न्यातले भने, “रातिको समयमा भने निकुञ्जभित्र रहेका मचानबाट रातभरि नै पहरा दिएर सुरक्षा गरिरहेको अवस्था छ, रातिको समयमा पनि गणको आधा जनशक्ति जंगलमै हुन्छ ।”
निरन्तर गस्तीसँगै सुरक्षा व्यवस्था बढाउँदा निकुञ्जमा चोरी निकासी केही कम हुँदै गएको समेत उनले बताए । निकुञ्जमा अन्य त्रियाकलापभन्दा अहिले दिउँसोको समयमा घाँस दाउरा चोर्नेको संख्यामा भने वृद्धि भएको छ । “निकुञ्जको अन्य क्षेत्रभन्दा बाकफाँटा, मालुबेला, जोनापुरी, तारापुर र बेल्डाँडी क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको छ । मध्यवर्ती क्षेत्रका समुदायमा चेतनामा कमी भएका कारण निकुञ्ज विरोधी गतिविधि रोक्न असहज भएको छ,” उनले भने । निकुञ्ज हाम्रो हो, हामीले नै उपभोग गर्न पाउनुपर्छ भन्ने मनसाय निकुञ्ज वरिपरि क्षेत्रका स्थानीयमा भएकोले पनि संरक्षण गर्न चुनौती रहेको उनले बताए । सेनाले पक्राउ परेका तस्कर मध्येबाट सुकाएको सालको रुख एक, गोलिया एक्काइस, आरा तीन, साइकल चार, माछा मार्ने जाल दुई, घन एक, बञ्चरोलगायतका सामान पक्राउ गरेर निकुञ्ज प्रशासनलाई वुझाएको छ ।

चन्द्रकान्त जोशी