कारोबार संवाददाता
शनिवार, जेठ ३, २०७७
3312

सरकारले कोरोना संक्रमणको उच्च, मध्यम र न्यून जोखिम क्षेत्र छुट्याएर लकडाउनकको मोडालिटी परिवर्तन गर्ने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो । समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र पहिचान गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो । उच्चस्तरीय समन्वय समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि न्यून जोखिममा रहेका क्षेत्रमा जनजिवन सहज बनाउनु पर्ने निस्कर्ष निकालेको हो । यो सम्बन्धमा भोलि बस्ने बैठकले निर्णय गरी मन्त्रीपरिष्लाई सिफारिस गर्ने छ । यस्तै, समितिले लकडाउनका कारण जापान जानबाट रोकिएका ६०० र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन लगायतका प्रकृया पुरा गरी पठाउने निर्णय पनि गरेको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइट माफर्त उनीहरु त्यस तर्फ जादैं छन् । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको हो । गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको जनाएको छ ।

हालसम्म नेपालका २४ वटा जिल्लामा कोरोना भाइरसको संक्रमित फैलिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेश ३ को मकवानपुर जिल्लामा पहिलो पटक एक जना ३७ बर्षिय पुरुषमा संक्रमण भएको पुष्टि गरेसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबारनै भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ देखि ३६ वर्ष उमेरका ८ जना पुरुषमा पनि संक्रमण देखिएको छ । बाँकेमा संक्रमण पुष्टि भएका सबै नरैनापुर गाउँपालिकाका विभिन्न वडाका बासिन्दा हुन् । उनीहरु भारतबाट फर्किएर क्वारन्टीनमा बसिरहेका व्यक्ति भएको बताइएको छ ।
शुक्रबार १८ जना थपिएपछि नेपालमा हालसम्म कुल संक्रमित संख्या २६७ पुगेको छ । हालसम्म कर्णालीबाहेक छ वटा प्रदेशका २४ जिल्लामा संक्रमित फेला परेका छन् । जसमध्य सबै भन्दा धेरै प्रदेश २ र प्रदेश ५ का जिल्लामा रहेका छन् । प्रदेश ५ मा १०२ जना, प्रदेश २ मा १०० जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, निको हुनेको संख्या पनि ३६ पुगेको छ ।
भारतीय सीमाबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरूसँगै कोरोना भित्रिन थालेपछि सरकारले पछिल्लो दिनमा परिक्षणको दायरालाई फराकिलो बनाउनदै लगेको छ ।