दिलबहादुर केसी
बिहिवार, चैत्र २७, २०७६
590

दोलखा-ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा विधिवत् पूजा मात्र गरी थन्क्याईएको छ । मल्लकालीन समयदेखि चल्दै आएको रातो मछिन्द्रनाथको रथ पहिलो पटक नतानी विधिवत पूजा मात्र गरेर थन्क्याइएको हो ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न जारी लकडाउनको कारण बुधबारदेखि ९ दिनसम्म चल्ने रथ यात्रा पूजा मात्र गरेर थन्क्इयाएको हो । भीमेश्वर नगरकार्यपालिका तथा गुठीयारहरुको निर्णयअनुसार यससाल रातो मच्छिन्द्रनाथको रथजात्रा विधिवत् पुजा गरेर स्थगित गरिएको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । दूधमा नुहाएर पौराणिक रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरि जात्रा चलाउनु पर्नेमा रातो मछिन्द्रनाथको मूर्तिलाई विधिवत् पूजामात्र गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

हरेक बर्ष चैत पूर्णिमादेखि चलाईने मच्छिन्द्रनाथको रथ तान्ने यात्रा दोलखा सहरको बिभिन्न टोलमा पु¥याईने प्रचलन रहेको थियो । मल्लकालीन सभ्यताको रुपमा तत्कालीन मल्ल राजा जय वासुदेवले सुरु गरेको सो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा सञ्चालन हुँदै आएको क्लबका जात्रा संयोजक सुरेश श्रेष्ठले बताए ।
ऐतिहासिक अभयपुरको विभिन्न स्थानमा करिब ६० डिग्रिको ठाडो बाटोमा तानिने रथजात्रा नेपालकै कठिन रथ यात्राको रुपमा लिइन्छ । रथ यात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म त्यसपछि कोर्छेसम्म, कोर्छेदेखि टसिचासम्म, भोलिपल्ट माथिल्लो स्वयम्भुस्थान, त्यसपछि माथिल्लो स्वयम्भुस्थानदेखि दुंगलसम्म, दुंगलदेखि पिंगलसम्म र अन्तिम दिन पिंगलदेखि डोकुलढुङ्गा टोलसम्म पु¥याएर समापन गरिने परम्परा रहँदै आएको थियो ।
रथ तान्नका लागि स्थानीयका साथै ललितपुर, भक्तपुर र काठमाडौंबाट नेवार समुदायको उल्लेख्य उपस्थिति हुने गरेको छ । मच्छिन्द्रनाथको रथ तान्ने जात्रा मनाईयो भने रोगव्याधि नलाग्ने, सुख्खा याममा पानी पर्ने आदि जनविश्वास रहदै आएको छ । धार्मिक आस्थाको कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु ब्रत समेत बस्ने गर्छन् ।