सुब्बा कार्की
मंगलबार, चैत्र २५, २०७६
527

रौतहटको गुजरा नगरपालिकास्थित अन्जुमन सामुदायिक वन क्षेत्रमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । आइतबार साँझ तस्करहरु हतियार सहित वन क्षेत्रमा प्रवेश गरेको सुराकीको आधारमा सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहको नेतृत्वमा गएको वन गस्ती टोलीले वन तस्करलाई घेरा हालेपाछि तस्करको समूहले वन गस्ती टोलीमाथि गोली प्रहार गरेको थियो ।
करिब २५–३० जनाको समुहमा रहेका तस्करहरुले वन गस्तीलाई देख्नै बित्तिकै गोलीप्रहार गरेको अधिकृत साहले बताए । उनले तस्करहरुले फायर गरेपछि वन टोलीले पनि जवाफी फायर गरेको बताउँदै सो क्रममा वन सुरक्षा टोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको जानकारी दिए । “हामीले उनीहरुले घेरा हालेको थाहा पाउने बित्तिकै उनीहरुले हामीमाथि फायर गरे,” उनले भने, “हामीले पनि जवाफी फायर गरेपछि उनीहरु भागे ।” उनले तस्करहरुलाई पछ्याउने क्रममा वन गस्ती तस्करहरुले छोडेर गएको एक थान भरुवा बन्दुक बरामद गरेको जानकारी दिँदै भिडन्तमा दुबैतर्फ कुनै क्षति नभएको र तस्करहरुको खोजीकार्य तिव्र पारिएको बताए ।

वन तस्करहरु ठूलो संख्यामा रहेकाले पक्रन नसकेको भन्दै अनुसन्धान र सुराकीको आधारमा तस्करहरुलाई पक्राउ गरिने वन अधिकृत साहले बताए । साहले थोरै जनशक्तिको कारण कार्य सम्पादनमा गाह्रो भएको गुनासो गर्दै आफुहरुले वन संरक्षण र वन्यजन्तु चोरी शिकार रोक्न गस्ती बढाइरहेको जानकारी दिए । उता जिल्लाकै उत्तरी क्षेत्रको विभिन्न सामुदायिक वन क्षेत्रमा समेत शिकारीहरुले बन्यजन्तु मार्ने गरेको छ । विशेष गरि बदेल यतिखेर किसानले लगाएको मकै बाली खान आएको मौका छोपी दैनिक जसो बँदेल मार्ने गरेको भएपनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गरेको सुरक्षाकर्मीको ध्यान लकडाउनमा लागेको मौकामा जिल्लामा काठ तस्करी, वन्यजन्तु चोरी शिकारी बढिरहेको स्थानियहरुको गुनासो रहेको छ ।
यसलाई रोक्न डिभिजन वन कार्यालयले ठोस कार्ययोजना र अभियान चलाउनु पर्ने अन्यथा लकडाउनको मौका पारेर वन र वन्यजन्तु तस्करहरुले सक्ने स्थानियको भनाइ रहेको छ । यसबारे डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले वन संरक्षण र चोरी शिकारी रोक्न डिभिजन वन कार्यालय सक्रिय रहेको बताए । उनले विभिन्न समयमा काठ तस्करहरुलाई पक्राउ गरि कारवाही गरेको बताउदै देशको विषम परिस्थितिमा समेत वन तस्कर र चोरी शिकारीमा सक्रिय रहेकोमा यसबारे डिभिजन वन सचेत रहेको बताए ।