कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
699

बारा- खुला सिमानाका कारण भारतबाट बारामा छिर्ने व्यक्तिमाथि प्रहरीले थप कडाइ गर्न थालेको छ । लकडाउन अटेर गरी बाराको मटिअर्बा लगाएतका नाकाबाट निर्बाध आवजजाबत भएपछि प्रहरीले १४ सय सुरक्षकर्मी थप गरी जिल्लाको नाका कडाइ गर्न थालेको हो ।
भारतसँग जोडिएको कुल ६० किलोमिटर सीमा क्षेत्र बारामा पर्ने भएको हुँदा सशस्त्र प्रहरीको सात वटा बोर्डर आउटपोष्ट ‘बिओपी’मा थप सशस्त्र प्रहरी राखेर सुरक्षा सतर्कता बढाएको छ भने प्रहरीले सीमा क्षेत्रमा सुरक्षा कडा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीका अनुसार जिल्लाभर १४ सय सुरक्षाकर्मी थप परिचालन गरिएको छ । सबैभन्दा बढी खुला सिमाना भएका कारण सिमाक्षेत्रमा परिचालन बढी गरिएको उनले बताए ।
प्रहरीले सिमा जोडिएको गाउँहरुमा भारतमा रहेका आफ्ना आफन्तलाई यतिबेला आउजाउ नगराउन पटक पटक अनुरोध गरे पनि अटेर गरेपछि सिमावर्ती गाउँहरुमा बाक्लो उपस्थिती गराई कडाइ थालेको हो ।
जिल्ला प्रहरी कार्यालयले आफ्नो सम्पूर्ण जनशक्ती लकडाउन कार्यान्वयनका लागि खटाएको छ । लकडाउन अवज्ञा गरि चलाइएका सवारी नियन्त्रण तथा सचेतनाका लागि ट्राफिक प्रहरीको ४२ जनाको जनशक्ति जिल्लामा खटिएको छ ।