प्रगति ढकाल
आइतवार, चैत्र १६, २०७६
1033

सरकारले ७ ओटै प्रदेशमा कोरोना भाइरसका शंकास्पद बिरामीको जाँचका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) वितरण गर्ने भएको छ । आइतबार सबै प्रदेशमा सरकारले स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई वितरणको प्रक्रिया थालनी गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यसअघि स्वास्थ्यकर्मीहरुले पीपीईको अभावका कारण उपचारमा समस्या हुने प्रतिक्रिया दिँदै आएका थिए । सरकारले लकडाउन तथा प्रचारप्रसारको काममा राम्रो भूमिका निभाएर कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक पहल गरेको छ । तर आवश्यक पर्ने पीपीई, तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजर लगायतका सामग्रीहरुको भने अभाव छ । सरकारले पहिले नै यस्ता सामग्रीहरुको व्यवस्थापन गर्न नसकेको भनेर आलोचना बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पीपिई व्यवस्थापनका लागि कदम चालेका हुन् ।

ढकालको निजी सचिवालयका अनुसार शनिबार १० हजार पीपीई, २ हजार बढी टेस्ट किट सडक माध्यमबाट वितरण गरिएको छ । आइतबार भने जहाजबाट १ लाख पीपीआई र १० हजार किट वितरण गरिने छ । आइतबार नै सबै प्रदेशमा सेनाको हेलिकोप्टरबाट पीपीआई र टेस्ट किट वितरण गरिने छ ।
“स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आर.ए, ४१७१ ग्वान्जाओका लागि उडेको छ, राति १ बजेतिर नेपाल आइपुग्ने छ,” पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख पीपीई, १० हजार टेस्टिङ किट ल्याइनेछ ।

एनआरएन कोरियाले दियो २ हजार टेस्टिङ किट
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाले पनि २ हजार टेस्टिङ किट नेपाललाई उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको संक्रमण भए–नभएको स्वास्थ्य जाँच गर्न नेपालमा पर्याप्त मात्रामा टेस्टिङ किट नभएपछि एनआरएनए कोरियाले नेपालका लागि टेस्टिङ किट उपलब्ध गराउन लागेको हो ।
शनिबार पीपीई र टेस्टिङ किट लिन ग्वान्जाओ उडेको नेपाल एयरलाईन्सको जहाजबाट एनआरएन कोरियाले नेपाललाई उपलब्ध गराएको टेस्टिङ किट ल्याइने एनआरएन कोरियाले जानकारी दिएको छ ।
तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस २ सयभन्दा बढी देशमा पुगेको छ भने २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । शनिबारसम्ममा ५ लाख ९५ हजार ८ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 
नेपालमा पाँचजनामा कोरोना संक्रमण
कतार एअरवेजबाट नेपाल आएकी अर्की एक युवतीमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया ती युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी उपत्यका बाहिर रहेको बताइए पनि मन्त्रालयले विस्तृत विवरण दिएको छैन ।
उनी यसअघि फ्रान्सबाट आएकी संक्रमित युवती आएकै कतार एअरवेजको उडान क्युआर ६५२ बाट नेपाल आएकी हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच पुगेको छ । यीमध्ये एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको टेकु अस्पतालमा र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।