भवन भट्ट
आइतवार, चैत्र १६, २०७६
685

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण संसार यस शताब्दीकै कठिन मोडमा उभिएको छ । यसै क्रममा यसको असर विस्तारै नेपालमा पनि देखिन सुरु भएको छ । शनिबार मात्रै पाँचौं कोरोना संक्रमित नेपालमा प्रमाणित भएपछि बजारमा एक प्रकारको त्रास फैलिएको छ । त्यसैले यस संकटको घडीमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले आफ्ना पाठक तथा साइकल ब्वाइको स्वास्थ्यलाई ध्यानमा राख्दै सोमबारदेखि छापा माध्यमलाई मात्र केही दिनका लागि स्थगन गर्ने निर्णय गरेको छ । यस्तो कठोर निर्णय गर्दा हामीले हाम्रा नियमित पाठकलाई सत्य, तथ्य समाचार दिन भने नचुक्ने पनि जानकारी गराउन चाहन्छौं ।
कारोबार राष्ट्रिय आर्थिक दैनिक तथा यससँग सम्बद्ध देशभर तथा विदेशमा रहेका हाम्रा सञ्चारकर्मीहरु मित्रहरु पाठकप्रतिको आफ्नो सामाजिक दायित्व निर्वाह गर्न दिन दिनरात नभनी खटिइरहनु भएको छ । त्यसैले जनस्वास्थ्यलाई ध्यानमा राखेर छापा माध्यम बन्द गरे पनि ई–पेपर तथा अनलाइन (कारोबार डेलीडटकम तथा इंग्लिस डटकारोबारडेलीडटकम) भने पूर्णरूपमा सञ्चालनमा रहने छन् र पाठकप्रतिको आफ्नो दायित्व निर्वाहमा चुक्ने छैनन् । यस्तो कठिन समयमा सञ्चारमाध्यमको कर्तव्य त्रास फैलन नदिन पनि निरन्तर सही तथा तथ्य समाचार प्रचार–प्रसार गर्न कारोबार राष्ट्रिय आर्थिक दैनिक आफ्ना पाठकप्रतिको सामाजिक दायित्वमा पछि नपर्ने पनि जानकारी गराउँछौं ।


अध्यक्ष
भवन भट्ट
टीबीआई पब्लिकेसन प्रालि