नीरज पिठाकोटे
बुधवार, चैत्र १२, २०७६
414

वीरगन्ज- सरकारले देश नै ‘लकडाउन’ गरेको अवस्थामा काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गरेर काठमाण्डौबाट भरतपुर, हेटौडा हुदै वीरगन्जमा ५२ जना यात्रु बोकेर आएको ना ५ ख ९५५२ नम्बर कण्टेनर सहितको लरीलाई प्रहरीले वीरगन्जको घण्टाघरबाट नियन्त्रणमा लिएको हो । ३ बालबालिका सहित ५२ जना यात्रु लिएर कन्टेनर सहितको लरी गएराति १२ बजे आईपुगेको हो । प्रहरीले लरीका चालक शीवनारायण महरालाइ पनि नियन्त्रणमा लिएको छ । अल्मुनियम लिएर गएको लरी काठमाण्डौको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अनलोड गरेको लरीमा सोही हार्डवेयरमा काम गर्ने कामदारलाई मङगलवार साँझ वीरगन्ज फर्किने क्रममा सोही लरीमा रहेको खाली कन्टेनर भित्र लिएर जान भनेपछि लिएर आउने क्रममा भरतपुर, हेटौडाबाट पनि अन्य यात्रुहरु चढेर आएका थिए । प्रति व्यक्ति २ सय रुपैया भाडा दिने शर्तमा चालकले आफुहरुलाइ लरीमा चढाएको यात्रूहरुले बताएका छन् । प्रहरीले लरीको कण्टेनरबाट नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका वासीन्दा हुन् । उनीहरु व्यपार व्यवसाय र मजदुरीका लागि काठमाण्डौ, भरतपुर र हेटौडामा बस्दै आएका थिए । मंगलबारदेखि लकडाउन पश्चात घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर आउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । भरतपुरमा सवारी नपाएर अलपत्र परेको बेला चालकले लरीमा चढाउन नमानेपनि आफुहरुले हारगुहार गरेपछि मात्रै चढाएको कन्टेनरमा चढेका पर्साको मुडलीका सन्दिप कलवारले बताए । लरी चालक महराले भने आफुले यात्रुलाइ चढाउन नमानेको भएपनि बाटो नै छेकेर जबरजस्ती गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताए । कन्टेनरबाट नियन्त्रणमा लिर्ईएका ५२ यात्रुलाई क्वारेण्टाईनमा राखिने र चालकलाई स्वास्थ्य परिक्षण गरेर प्रहरी थुनामा राखी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कार्वाही गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए । लकडाउन उल्लघन गरि यात्रु ओसार्ने लरीका चालकले गम्भीर नियम उल्लंघन गरेकोले कारवाही हुने उनको भनाई छ । यात्रुहरुलाइ भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेर उनीहरुको अवस्था हेरेर त्यही अनुसार निर्णय गरिने बताए । नियन्त्रणमा लिएका ५३ जनालाइ स्वास्थ्य परिक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार पठाइएको छ ।
कतारबाट आएका तीन सहित चारजना क्वारेण्टाईनमा
कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन् । बैदेशीक रोजगारीमा कतार गएका उनीहरु ४ गते कतार एवरवेजको उडान बाट नेपाल फर्किएका थिए । पर्सा जिल्लामा बिदेशबाट आएकाहरुलाई खोजी गरेर क्वारेन्टाइनमा राख्न थालिएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देउरवानाका उनीहरु क्वारेन्टाइनमा नबसी स्वतन्त्र हिडडुल गरिरहेका थिए । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन । तीन जनालाई बीरगंजमा क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कतारबाट आएका ३ जनालाई भेटन उनीहरुको घर पुगेका बारा जिल्लाको परवानीपुर गाउँपालिकाका एक जनालाई उनीहरुसंगको भेटका कारण क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । यसैगरि भारतको बैङलौरबाट अध्ययन पुरा गरेर फर्किएका अर्का युवकलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएको छ । उनीहरुमा कोरोना संक्रमणको लक्षण नदेखिएको बताईएको छ । फ्रान्स बाट दोहा हुँदै चैत्र ४ गते नेपाल आएको कतार एयरवेजबाट उनीहरु फर्किएका हुन् । सोही दिन फ्रासबाट दोहा हुदै कतार एयरवेजको उडानबाट फर्किएकी एक १९ वर्षीय युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरु पनि कोरोना संक्रमित किशोरीसँगै नेपाल आएको हुन भन्ने हल्ला भएपछि देउरवाना गाउँमा त्रास पैदा भएको थियो । गाउँलेहरु अझै पनि भयभीत छन् । प्रहरीले उनीहरुलाई क्वारेन्टाइनमा लगेपछि मात्र गाउँमा राहतको महशुस गरेको स्थानीयले बताएका छन । गाउँलेहरुमा भागाभाग भएको थियो प्रहरी बोलाएर अस्पताल पठाएपछि मात्र परिस्थिति साम्य भएको वडाध्यक्ष जुमान मियाँले बतए ।