कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
390

विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा तीन हजार ९ सय थान मास्क वितरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका हुन् । टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध गरिएको हो । कोइरालाले केही टोलहरूमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गरेका थिए । तर कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले जनाए । ‘‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ,’’ भने, “यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्छ ।”
नेपाली कांग्रेसका प्रदेश–१ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । वडाका उत्तरबखरी, दक्षिण बखरी, पाञ्चाली, रोडशेष चौक, मझुवा, दरेहैया, दरेहैया आदर्श टोल, गढाटोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसँगै दुई–दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिए । मास्क वितरणलाई निरन्तरता दिने गोल्छाले बताए ।