कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
733

हेटौंडा-प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली नै हिरा लुटेर भाग्दै गर्दा पक्राउ परेका छन् ।
मकवानपुरको कैलाश गाउँपालिकाकी एक महिलाको साथबाट हिरा चोरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पालुङको टोलीले एक जना प्रहरी साहायक निरीक्षक, दुई जवान र एक पत्रकारलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर–१२ घर भई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी सहायक निरीक्षक रहेका सुरेन बस्याल, जाजरकोट शिवालय–२ का २७ बर्षीय प्रहरी जवान बीरबहादुर बस्नेत, दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय प्रहरी जवान हिमकान्त पुन मगर र ललितपुर महानगरपालिका भैंसेपाटीका १९ वर्षीय पत्रकार सुजन आचार्य रहेका छन् ।

मकवानपुर कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए । हिरा लुटिएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्धाअन्तर्गत् अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।