कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
613

नेपाल डेरावाल उपभोक्ता मञ्चले कोरोना संक्रमणका कारण स्वरोजगारहरुको व्यापार व्यवसाय तथा मजदुरको रोजीरोटी नै संकटमा परेको भन्दै घरभाडामा ५० प्रतिशत छुट हुनुपर्ने माग गरेको छ । संघले डेरामा बस्ने नागरिक र व्यवासायीको घरभाडा कम्तिमा ५० प्रतिशत छुट गराइदिन नेपाल सरकारको ध्यानाकर्षण गरेको हो । सरकारको ध्यानाकर्षण गराउँदै सबै घरधनीसमक्ष डेरावाल उपभोक्ता मञ्चले घरभाडा छुटको अपिल गरेको विज्ञप्तिमा जनाइएको छ ।
संघका अध्यक्ष भुवन थापाले काठमाडौं उपत्यकालगायत देशैभर धेरै श्रमिक र व्यवसायी कोरोना संत्रासबाट उत्पन्न परिस्थितिका कारण पीडित बनेकाले विपतका बेला मानवीय सहयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले भने, “कोरोनाको सन्त्रासले गर्दा डेरामा बस्ने र मासिक लाखौँ तिरेर तिरेर व्यावसाय गर्नेलाई बन्द कोठाको घरभाडा तिर्ने निकै कठिन हुने भएको छ । त्यसैले एक जुगमा एक पटक आउने यो जटिल समयमा विवेक प्रयोग गर्न हामीले सरकार र सम्पूर्ण घरधनीहरुलाई आग्रह गरेका हौं ।”
संसारका १७७ देशमा फैलिसकेको कोरोना भाइरसले विश्वमा महामारीको रुप लिदै छ । यसको रोकथामको लागि विभिन्न देशहरुले कडा कदम चालिहेका छन् । व्यवसाय बन्द गरिएको छ भने हिँडडुलमा प्रतिबन्ध लागेको छ । संघले कोरोना रोकथामको लागि नेपाल सरकारले अत्यावश्यक बाहेकका सेवा र व्यवासाय बन्द गर्ने निर्णयको स्वागत गर्दै सहयोगको प्रतिवद्धता जनाएको छ । “तर, यसरी सम्पूर्ण सेवा व्यवसाय बन्द हुँदा लाखौँ श्रमिकको रोजीरोटी खोसिएको छ भने कतिलाई बेतलबी बिदामा राखिएको छ,” उनी भन्छन्, “यसैले सरकारले घरधनीलाई केही राहत दिएरै भए पनि भाडा छुटका लागि प्रोत्साहित गर्नुपर्छ ।”