कारोबार संवाददाता
शुक्रवार, चैत्र ७, २०७६
311

सरकारले मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलमा एक पटकमा २५ जनाभन्दा बढी तीर्थालु÷दर्शनार्थी भेला हुन नपाउने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले धार्मिक स्थलमा लामबद्ध हुने व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, धार्मिकस्थल जाँदा साबुन पानीले हात धुने र मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । बैठकले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानलगायत सभाहलमा पनि यो महिनाभर कुनै कार्यक्रम गर्न पाइने छैन । मन्त्रालय र अन्तर्गतका निकायले कार्यालय भवन र परिसर नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिएका छन् । मन्त्रालय मातहतका निकायका विभागीय प्रमुखहरुको सिंहदरबारमा बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि काम थाल्न निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्न मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ । समितिको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने लगायतका निर्णय गरेको थियो । कोभिडको सम्भावित जोखिम नियन्त्रणका लागि पर्यटन मन्त्रालयले मातहत निकायलाई एक्सनमा उतारेको हो ।
पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ का कारण विश्व नै संकटमा फसेको उल्लेख गर्दै त्यो संकट नेपालमा भित्रिन नदिन अहिले सबै क्रियाशिल रहनुपर्ने समय भएको बताए । बैठकले मन्त्रालयअन्तर्गतका सबै सांस्कृतिक केन्द्रहरु, सङ्ग्रहालय तथा अभिलेखालय २०७६ चैत मसान्तसमम बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी सांस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानका सभाहल, प्रतिक्षालयहरुमा चैतभर कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।
मन्त्रालय र मातहत निकायले आफ्ना कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाइ गर्न र कार्यालय प्रवेशद्वारमा अनिवार्य ज्वरो मापन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आउने यात्रुलाई अनिवार्य ‘हेल्थ डिक्लेरेशन फारम’ भर्न लगाइ स्वास्थ्य जाँच गराउने र सोको विमानस्थलका महाप्रबन्धकले अनुगमन गर्नुका साथै आन्तरिक उडानमा पनि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिने बैठकको निर्णय छ ।
युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुक एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मलुकलाई ट्रान्जिट बनाइ आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाइ आउने सबै यात्रुलाई यही चैत ७ देखि ३० गतेसम्म आगमन प्रतिबन्ध लगाइएको व्यहोरा नेपालमा उडान भर्ने अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराउनेलगायत निर्णय गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।