कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
534

अण्डा नष्ट गराएर मासुमा अस्वभाविक मुल्य वृद्धि गराउने व्यवसायीलाई कारबाही गरिने भएको छ । ह्याचरी उद्योगले केही समय अण्डा नष्ट गराउँदा बजारमा अहिले कुखुराको मासु अस्वभाविक रुपमा बढेको हो ।
दुई सय ८० रुपैयाँ रहेको कुखुराको मासु अहिले डेढ महिनाको अवधिमा चार सय ५० रुपैयाँ पुगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले कार्टेलिङ्ग गरेर कुखुराको मासुको मुल्य बढाउने व्यवसायीलाई कारबाही गरिने बताए । चल्ला नष्ट अभियानले बजारमा मासुको मुल्य बढाउनुपरेको कारणबारे अध्ययन गरेकाले प्रमाणित भए कारबाही गरिने बताए ।

विभागले हृयाचरी व्यवसायी, मासु बिक्रेतासँग लिखित जवाफ मागेको, उपभोक्ता अधिकारकर्मी र कानून व्यवसायीसँग छलफल र परामर्श गरिरहेको बताउँदै महानिर्देशक सुवेदीले कृत्रिम अभाव गराएर कालोबजारी गर्ने उद्योगीलाई कारबाही गर्ने बताए ।
कालोबजारी कसुर प्रमाणित भए कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार दोषीलाई कैद र जरिवाना दुवै गर्न सक्ने अधिकार दिएको छ । क्षेत्रगतरुपमै अनुगमन गरिरहेकाले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने उनले जानकारी दिए ।
विभागले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा धेरै बजार अनुगमन गरेको पनि दावी गरेको छ । चालू आर्थिक वर्षमा एक हजार वटा व्यापारिक फर्महरुमा अनुगमन गर्ने लक्ष्य लिएपनि ८ महिनामा १ हजार १ सय ६४ वटा फर्महरुको अनुगमन गरिएको विभागले जनााएको छ । सो अवधिमा काठमाडौं उपत्यका तथा बाहिर गरेर कुल ३ सय ५३ अनुगमन टोली परिचालन गरेर ११ सय ६४ वटा फर्मलाई अनुगमन गरेको विभागले जनाएको छ ।
अनुगमनबाट उपत्याका भित्र ६५ लाख २७ हजार तथा उपत्याकाबाहिर ४२ लाख ५५ हजार रुपैयाँ गरी कुल १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना गराएको विभागले जानकारी दिएको छ । यस अवधिमा अनुगमनका नाममा २० लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै देशैभरको अनुगमनमा अखाद्य भेटिएका विस्कुट, चकलेट जस्ता एक करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँको वस्तु नष्ट गरिएको पनि विभागले जनाएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना संख्यात्मकरुपमा मात्र नभएर बजार व्यवस्थित हुने गरी अनुगमन गर्नुपर्ने बताए । “बजारमा अझै पनि धेरै समस्या कायम रहेका छन, उनले भने“विभागले अनुगमन केवल विलविजकमा मात्र सीमित नभएर अन्य सवै कुरामा समेत केन्द्रित हुनुपर्छ । ”
अनुगमनमा कैफियत देखिएको दुई र्फमविरुद्ध मुद्धा दायर गरिएको तथा उपत्यका भित्रका १८ वटाको नमूना संकलन गरेर परिक्षणको क्रममा रहेको विभागले जनाएको छ । यस्तै गरिमा धानको नक्कली बीउ बिक्री सम्बन्धमा उपभोक्ता संरक्षण ऐन अन्र्तगत बीउ आयातकर्ता सनराईज एग्रीकल्चर रिसर्च प्रा.लिलाई ३ लाख र बिक्रेता तनहुँ विज भण्डारलाई २ लाखका दरले जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै नक्कली बीउ बिक्री गर्ने जमिल विज भण्डार, घिमिरे एग्रोभेट बाणगंगा, लालीगुँरास एग्रोभेट, जनता एग्रोभेट, मुनाल एग्रोभेट, सृर्जा भेट सेन्टर, शिखा एग्रो सेन्टर, खुसीराम एग्रोभेट, लोहती एग्रोभेट, किसान एग्रोभेट,प्रशान्त एग्रोभेट र सुलु भेट सेन्टरलाई जनही २० हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ ।
विभागले नियमित रुपमा बजार अनुगमन गरेको बताएपनि बजारमा म्याद नाघेका सामान विक्रि, मूल्यसुचि नभएको, व्यवसाय दर्ता नभएको जस्ता बढी समस्या रहेका छन । व्यवसायीले पसलपिच्छे मनपरी ढंगले मुल्य निर्धारण गर्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई परेको छ । विभागले नियमितरुपमा बजार अनुगमन गरेपनि प्रभावकारी नहुँदा दिनहुँजसो उपभोक्ता ठगिरहेका छन ।