दीननाथ बराल
आइतवार, माघ ५, २०७६
458

पोखरा-होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको निधन भएको छ । छाती, मुटु सम्बन्धि रोगबाट ग्रसित भएका कीर्तिमानी खगेन्द्रको शुक्रबार पोखराको मणिपाल शक्षिण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं. १, धुल्लुवास्कोटमा जन्मेका खगेन्द्रले २०६७ सालमा विश्वकै होचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । पोखराका मीन बहादुर रानाको पहलमा पोखरा आएका खगे्रन्द्रलाई सुरु सुरुमा प्रवेश शुल्क लिएर समेत प्रर्दशनीमा राखिएको थियो । पोखरा आएसँगै उनको चर्चा ह्वात्तै बढ्न गयो । रानाको पहलमा २०६१ फागुन २५ गते खगेन्द्र परिवार पोखरा आएका थिए । आमा धनमाया थापा मगर र बुबा रुपवहादुर थापा मगरको पहिलो सन्तानका रुपमा २०४९ साल असोज २८ गते जन्मेका खगेन्द्र थापा मगरले २०६७ सालमा विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

खड्क थापाले खगेन्द्रको बारेमा रानालाई जानकारी दिएपछि रानाले खगेन्द्रका साइला बाबा मोहन थापा मार्फत पोखरा ल्याएका थिए । रानाको पहलमा २०६३ सालमा खगेन्द्रको हकहितको लागि भन्दै खगेन्द्र थापा मगर प्रतिष्ठान गठन भयो । प्रतिष्ठानकै पहलमा खगेन्द्रले गिनिज बुकमा वल्र्ड रेकर्ड राखेसँगै उनलाई विभिन्न देशले निम्तो दिन थाले । खगेन्द्रले भारत, कोरिया, बेलायत, मलेसिया, अष्ट्रेलिया, इटली, फ्रान्स, आइसल्याण्ड, स्विजरल्याण्ड, हङकङ, लम्जम्बर्ग, होल्याण्ड, कतार हुँदै अमेरिकासम्मको भ्रमण गरेका थिए ।
कीर्तिमानी खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेको छ । खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेशका भूमि व्याबस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।
नेपालको नाम विश्वसामु राख्ने खगेन्द्रको शव यात्रा सहितको दाहसंस्कारमा सरकारी स्तरबाट प्रदेशका एक मन्त्री बाहेक अन्य निकाय खासै सहभागि नहुनुले कीर्तिमान राख्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिन नसकेको केही सहभागिले गुनासो गरेका थिए । मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको शोभायात्रा पोखराको नगर परिक्रमा गरी रामघाट स्थित अधौं बुद्ध सदनमा अन्तिम दाहसंस्कार गरिएको थियो । खगेन्द्रका जेठा बाबा हिरा बहादुर थापाले उनलाई दागबत्ति दिएको प्रतिष्ठानका अध्यक्ष रानाले जनाए । जन्मँदा करिब ६ सय ग्राम तौल भएका खगेन्द्रले विश्व रेकर्ड कायम गर्दा ५७ सेन्टिमिटर अर्थात २२ दशमलव ०४ इन्च रहेका थिए ।
गिनिज बुकमा नाम लेखाएको करिब ८ महिनामा चीनका पिङपिङले नेपालको रेकर्ड तोडेका थिए । चन्चले स्वभावका खगेन्द्र पूजा गर्ने, नाचगान गर्ने जति खेर पनि चलिरहने उनको स्वभाव भएको उनका भाइ महेश थापा मगरले बताए । खगेन्द्र एलकेजीमा दुई वर्ष अध्ययनसमेत गरे । पोखराको सरस्वती आवासिय माविमा खगेन्द्र अध्ययन गर्र्दा विद्यालयको छुट्टै पहिचान बनाएको विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर थापाले बताए ।
खगेन्द्रको विवाह गर्ने अन्तिम इच्छा भने अपूरै रहेको प्रतिष्ठानका एक सदस्य धनकुमारी रानाले बताइन् । “सबैले विवाह गरे र मेरो पनि विवाह गर्नुप-यो । मलाई मेरो श्रीमतीले सघाउँछे,” खगेन्द्रले भन्ने गरेको रानाले सुनाइन् । यसैबीच, गण्डकी प्रदेश सरकारले विश्वकै होचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको निधनप्रति शोक व्यक्त गरेको छ । विश्व कीर्तिमान कायम गरेका मगरको निधनको खबरले आफूहरुलाई अत्यन्त दुःखी बनाएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङद्वारा हस्ताक्षरित शोक वक्त्तव्यमा उल्लेख छ ।