कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
1243

लमजुङ-जिल्ला प्रशासन कार्यालय लमजुङले फर्जी नागरिकता सहित एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्लाको क्होलासोँथार गाउँपालिका–२, मालिङका सुवाष लामालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी बनाउन आएका लामालाई फर्जी नागरिकता सहित प्रशासन कार्यालयले नियन्त्रणमा लिएको हो ।
राहदानी बनाउन आवश्यक काजगपत्र पेश गर्नेक्रममा लामाले बुझाएको नागरिकता शंकास्पद भेटिएपछि थप अनुसन्धान गर्दा नक्कली ठहरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले बताए । लामाले बुझाएको नागरिकतामा ६ ठाउँमा गल्ती भेटिएको प्रजिअ खड्काले बताए । नागरिकता प्रमाणपत्रमा हुने कोड नम्बर लमजुङको ४४ हो तर प्रशासन कार्यालयका अनुसार सो नागरिकताको प्रमाणपत्र कोड ४५ उल्लेख छ । २०७४ साल पुस १७ गते जारी गरिएको देखिने सो नागरिकता क्होलासोँथार गाउँपालिका हुनुपर्नेमा साविक मालिङ गाविस नै उल्लेख भएको पाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म प्रशासकीय अधिकृत पद नै नरहेकोमा लामाले लिएको नागरिकता प्रदान गर्ने अधिकारी प्रशासकिय अधिकृत उल्लेख भएको छ । नागरिकतामा प्रसाशकीय अधिकृत डिल्ली प्रसाद श्रेष्ठ नाम उल्लेख गरीएको भए पनि सो नामको व्यक्ति प्रशासन कार्यालयको कर्मचारी नै नरहेको प्रशासनले जनाएको छ ।
सो नागरिकताको प्राप्त व्यक्तिको औँठा छाप पनि खाली छ भने नागरिकतामा लगाइएको जिल्ला प्रशासन कार्यालयको छापमा पनि अशुद्ध अक्षर भेटिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
प्रशासन कार्यालयको नियन्त्रणमा रहेका लामाले सोधपुछका क्रममा आफूले जिल्ला प्रशासन कार्यालय लमजुङबाट नै नागरिकता लिएको दावि गरेका थिए । तर सोधपुछकै क्रममा भारतीय सेनामा भर्ती हुने क्रममा साथीले आफ्नो नागरिकता सहित सवै कागजपत्र हराइदिएपछि साथीले नै उक्त नागरिकता बनाएर ल्याइदिएको स्वीकार गरेको प्रशासनले जनाएको छ ।
यसअघि २०७२ सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको भनेपनि उनले लिएको नागरिकताको प्रमाण जिल्ला प्रशासन कार्यालयमा भेटिएको छैन । नागरिकता हराएपछि साथीले उपलब्ध गराएको नागरिकता नक्कली हो भन्ने समेत आफूलाई ज्ञान नभएको लामालाई उदृत गर्दै प्रशासन कार्यालयले जनाएको छ ।
लामालाई नियन्त्रणमा लिएसँगै थप अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ । पछिल्लो समय लमजुङमा नागरिकता सम्बन्धी समस्या एकपछि अर्को सार्वजनिक हुँदै गएको छन् । यसअघि जिल्लाकै मस्र्याङदी गाउँपालिका–९, बाट पनि वडा अध्यक्षकै सिफारिसमा एक गैर नेपाली नागरिकले नेपाली नागरिकता लिएको विषय पनि प्रशासनमा अनुसन्धानकै क्रममा रहेको छ । त्यस्तै दोर्दी गाउँपालिका–३, श्रीमञ्ज्याङबाट एक महिलाले दोहोरो नागरिकता लिएको विषयमा पनि छानविन भइरहेको प्रशासनले जनाएको छ ।