सुब्बा कार्की
मंगलबार, पुष २९, २०७६
337

रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी रातको समयमा विद्युत्को लाइन काटिएको बेलामा फरार भएका छन् । रौतहटको गढीमाई नगरपालिका वडा नं. १ बस्ने २८ वर्षीय अशोक यादव गौर क्षेत्रमा बिजुलीको लाइन काटिएको मौकामा कार्यालय सहयोगी एकरामुल हकले गेटको ताला नलगाएपछि फरार भएका हुन् ।
राति करिब साढे ८ बजे बिजुलीको लाइन कटेको मौका छोपी कैदी यादव फरार भएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख शम्भु यादवले जानकारी दिए । ढोकामा कार्यालय सहयोगीले ताला लगाउन बिर्सेको र बिजुलीको लाइन गएको मौका परेर यादव फरार रहेको उनले बताए । सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ वर्षको सजाय तोकिएर एक साताअघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो । कारागारबाट आइतबार राति आठदेखि साढे आठ बजेका बीचमा कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ । उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै फेला पारेको छ । कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ ।
यसैबीच कैदी फरारको बारेमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरननिधी तिवारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेका छन् ।
यसैगरी २०७० सालमा पनि कारागारबाट नै एकजना कैदी फरार भएका थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका नबिन कुमार यादव फरार भएका थिए । गौरको तयब अस्पतालमा उपचारको क्रममा यादव फरार भएका हुन । गौर कारागारमा ७ वर्षदेखि करारमा कार्यरत कार्यालय सहयोगी एकरामुल हकको लापरवाहीकै कारण कैदी यादव भागेको बुझिएको छ ।