रासस
मंगलबार, पुष २९, २०७६
634

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैंडा मरेका छन् । पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैंडा मृतावस्थामा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैंडा मरेको सूचना प्राप्त भएको छ । केही दिनअघि सो गैंडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो । घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठ वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैंडा कालगतिले मरेका छन् । गत वर्ष कालगतिले ४३ वटा गैंडा मरेका थिए । अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैंडा कालगतिले मर्ने गरेको उहाँले जानकारी दिए ।

गैंडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन् । कालगतिले गैंडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ । सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैंडा मारेका थिए ।
पछिल्लो गणनाअनुसार देशभर ६४५ गैंडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैंडा फेला परेका थिए । यस वर्षको चैत्रमा गैंडा गणना गरिँदै छ । पछिल्ला वर्षमा कालगतिले गैंडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ ।