सागर परियार
आइतवार, मंसिर १५, २०७६
278

जुम्ला-स्वास्थ्य बिमाको सुविधाअन्तर्गत अस्पतालले औषधि नदिएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा रिट परेको छ । अधिवक्ता अनिता तिमिल्सिनाले बिहीबार रिट दर्ता गरेकी हुन् । स्वास्थ्य बिमा बोर्ड, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विपक्षी बनाइ परमादेशको मागसहित रिट दायर भएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमाअन्तर्गत बिरामीलाई निःशुल्क दिनुपर्ने अधिकांश औषधि निजी फार्मेसीमा किन्न पठाउने गरेकाले रिट हाल्नुपरेको अधिवक्ता तिमिल्सिनाले बताइन् ।

उनका अनुसार रिटमा स्वास्थ्य बिमा अनुसारका १ हजार १ सय १८ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने, गुणस्तरीय औषधि आपूर्तिको व्यवस्था गर्नुपर्ने, बिरामीले औषधि पाए नपाएको अनुगमन गर्नुपर्ने र अनुगमन गरे नगरेको प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्न माग गरिएको छ । अधिकांश कर्णालीबासीलाई बिमा हर्ष न विस्मात भइरहेका बेला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही राम्रो सुविधा छ भनिए पनि निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा धेरै गुनासो आउने गरेको छ ।
अधिवक्ता तिमिल्सिनाले नै अदालतमा स्वास्थ्य बिमा अनुसार औषधी आपूर्तिका लागि रिट दायर गरेकी हुन् । अस्पतालको फार्मेसीमा आवश्यक औषधि नहुने र अस्पताल बाहिरका निजी औषधि पसलबाट बिरामीले चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो स्थानीय भैर दमाइले गरे । ‘दुई पटक सम्म अस्पतालमा आउँदा ६-७ सयदेखि माथिको औषधी निजी मेडिकलमा किन्न पठाए’, उनले भने, ‘महंगो औषधी भए सिधै निजी मेडिकलमा किन्न पठाउने गरेका छन् ।’
यता, प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानले औषधी आपूर्तिका लागि टेण्डर आह्वान भइसकेको बताए । उनले प्राप्त भएका टेण्डरमाथि प्रतिष्ठानको केन्द्रिय टोलीले मूल्यांकन गरिरहेको बताए ।
टेण्डर भएको तर मूल्यांकन जारी रहेकोले औषधी आपूर्ति नहुँदा बिमा कार्डमा भएको औषधी नागरिकलाई उपलब्ध गराउन नसकिएको रजिष्टार काफ्लेको भनाई छ । अहिले ६ सय ५६ प्रकारका औषधिको टेण्डर मागेर आपूर्ति सम्झौता हुन लागेको प्रतिष्ठानले जनाएको छ ।